२३ असार २०८३, मंगलबार
सरसर्ती २४ घण्टा

प्रचण्ड सरकार ढल्दै, आजै प्रधानमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस-एमालेको तयारी

असार २८, २०८१
काठमाडौं
प्रचण्ड सरकार ढल्दै, आजै प्रधानमन्त्रीमा दाबी पेस गर्ने कांग्रेस-एमालेको तयारी

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरोका कारण मानवीय क्षति भएको छ । पोखराको दुई स्थानमा ११ जनाको मृत्यु भएको छ भने म्याग्दीमा थप दुई जनाको मृत्यु भएको छ । यसैगरी मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरोले दुई बस बगाउँदा ६० जना बेपत्ता भएको आशंका गरिएको छ । यस्तै विभिन्न स्थानमा डुबानका साथसाथै सडक अबरुद्ध भएको खबर पनि छ । 
००००
नेपाली कांग्रेस र नेकपा एमालेले शुक्रबार नै नयाँ प्रधानमन्त्रीमा दाबी पेस गर्ने तयारी गरेका छन्।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन नसक्ने निश्चित रहेकाले शुक्रबार संसद् बैठकलगत्तै राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीमा दाबी गर्ने तयारी दुई दलले गरेका हुन्। 

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूसँग ८० प्रतिशत सांसद रहेको भन्दै भोलि नै प्रधानमन्त्रीमा दाबेदारी गर्ने जानकारी दिए।
‘प्रधानमन्त्रीले विश्वासको मत पाउन सक्ने अवस्था छैन, त्यसैले ८० प्रतिशत बढी सांसद भएकोले हामी भोलि नै सरकारमा दाबी पेश गर्छौँ’, लेखकले भने ।

प्रधानमन्त्रीले विश्वासको मत नपाउने भएकोले लामो समय देशलाई सरकार विहीनताको अवस्थामा राख्न नहुने भन्दै लेखकले शुक्रबार नै राष्ट्रपतिसमक्ष सांसदको हस्ताक्षर बुझाउने जानकारी दिए । प्रधानमन्त्री प्रचण्डको विपक्षमा बहुमत सांसद देखिएकाले उनी नेतृत्वको सरकार आज ढल्ने निश्चित छ । 
००००
बढी वर्षा हुने आकलन गरिएको यसपालिको मनसुनमा कोशी, गण्डकी र लुम्बिनी प्रदेशले बढी मानवीय क्षति बेहोरेको छ । 

मनसुन सुरु भएपछिको एक महिनामा (जेठ २८ देखि असार २७ सम्म) मात्रै देशभरमा ८८ जनाको मृत्यु भएकामा सबैभन्दा बढी क्षति उल्लेखित तीन प्रदेशमा भएको छ । 

सातमध्ये गण्डकी प्रदेशले सबैभन्दा बढी मानवीय क्षति बेहोरेको हो ।
००००
मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बजेटमा भएको कमजोरीको उच्चस्तरीय छानबिन गर्ने प्रतिबद्धता जनाएसँगै मधेस प्रदेशसभा बैठकको अवरोध हटेको छ ।

बिहीबार बसेको प्रदेशसभा बैठकको सुरुमै जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले बजेटमा त्रुटि भएको स्वीकार गरिसकेकाले उक्त बजेटमाथि प्रदेशसभामा छलफल नगर्ने बताए । त्यसपछि जसपा नेपालका सांसदहरु उठेर प्रदेशसभा बैठक अवरोध गरेका थिए ।
००००
राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने चार दलका सांसदद्वारा जारी प्रेस विज्ञप्तिप्रति अर्थमन्त्री वर्षमान पुनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।      
अर्थमन्त्री पुनले सम्बन्धित दलका नेताहरुसँग छलफल गर्न चाहेपछि सहमतिमै कार्यसूचीबाट हटाइएको विषयलाई वक्तव्यमा उठाइएका आरोप असहमति र आपत्तिजनक रहेको विज्ञप्तिमार्फत ध्यानाकर्षण गराएका हुन् ।
००००
नापी कार्यालय ललितपुरका सर्भेक्षकसहित दुई जना ४ लाख घुससहित पक्राउ परेका छन् । सर्भेक्षक संजिव कुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक राम बाबु भुजेलले जग्गा हालसाविक गरी पूर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले यादव र भुजेललाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो ।
००००
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीकी श्रीमती गीता भ्रष्टाचार मुद्दामा दोषी ठहर भएकी छन् ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई बिहीबार नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर गरेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार पनि उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बिहीबार नेप्से परिसूचक २९ दशमलव २१ अङ्कले उकालो लागेर दुई हजार दुई सय चार दशमलव ६१ मा पुगेको छ ।
००००
जनता समाजवादी पार्टी (जसपा) नेपालले २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । 

महाधिवेशनबाट निर्विरोध चयन भएका अध्यक्ष उपेन्द्र यादवले बिहीबार २१५ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका हुन् । 
अहिले जसपामा अध्यक्ष यादवमात्रै पदाधिकारी छन् भने ९ कार्यकारिणी सदस्य रहेका छन् ।


 

salt training

कमेन्ट गर्नुहोस्