
सांसद अमरेश कुमार सिंहले बाढी पहिरोजस्ता प्राकृतिक विपत्तिको पूर्व तयारीमा सरकार सधैं लाचार हुँदै आएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै सिंहले अरु क्षतिभन्दा मानवीय क्षति ठूलो हुने भए पनि सरकारको काम सुविधा प्राप्त गर्नेमा मात्रै केन्द्रित भएको आरोप लगाएका छन् ।
‘अरुभन्दा मानवीय क्षति सबैभन्दा ठूलो हो । यसप्रति गम्भीर हुनुपर्छ । देशमा असार आउने वित्तिकै नागरिकको मृत्यु कता कहाँ हुन्छ सरकारलाई थाहा हुँदैन । उपरवालालाई मात्रै थाहा हुन्छ,’ सिंहले भने, ‘हरेक साल बाढी र पहिरो आउँछ । तर सरकारले पूर्व तयारीमा कुनै तदारुकता देखाउँदैन । सरकारले यसपालि राम्रो गर्छौ भन्छ तर, निरन्तरका घटनाले पूर्वतयारी भएको देखाउँदैन ।’
सरकार गैर जिम्मेवार हुँदा शुक्रबार बिहान मुग्निल–नारायणगढ खण्डमा ५ दर्जन यात्री बेपत्ता हुने घटना भएको उनको भनाइ छ ।
‘मुग्लिन–नारायणगढ सडक खण्डमा शुक्रबार बिहान भएको दुर्घटनामा ५ दर्जन यात्री बेपत्ता भए । हाम्रो निकायको सुविधामा कुनै कमी छैन । राति यात्रा गर्दा तर दुई जना चार जना ट्राफिक प्रहरी राख्ने वा जोखिम भएको बाटोमा वर्षाका दुई तीन महिना राति बस चलाउन बन्द गर्नुपर्ने हो,' उनले भने, ' तर देशको लाइफलाइनको अवस्था यस्तो छ भने अरु सडकको अवस्था कस्तो होला ?’
सिंहले गाडी मर्मत र तेलमा मात्रै प्रदेशको ३० करोड खर्च भएको तर मानवीय क्षति रोक्न १० करोड पनि खर्च नहुनु दुखद् भएको उनले बताए ।