०१ असार २०८३, सोमबार

पहिरोको उच्च जोखिममा रहेका ६ परिवारलाई सुरक्षित स्थानमा सारियो

असार २८, २०८१
म्याग्दी
पहिरोको उच्च जोखिममा रहेका ६ परिवारलाई सुरक्षित स्थानमा सारियो

पहिरोको उच्च जोखिममा रहेको जिल्ला म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ हल्लेखर्क रोहोटेका ६ परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । म्याग्दी हाइड्रोपावरले निर्माण गरेको १४ मेगावाट क्षमताको घारखोला जलविद्युत् आयोजनाको सुरुङको आउटलेट आसपासको क्षेत्रमा जमिन चिराचिरा परेर बग्न थालेपछि जोखिममा परेका परिवारलाई सुरक्षित स्थानमा सारिएको हो ।

रामजी बरुवालको परिवारलाई स्थानीय मन्दिरमा राखिएको बताउँदै अन्नपूर्ण–६ का वडाध्यक्ष रामबहादुर खड्काले अन्य परिवारलाई आफन्त तथा अन्यत्र रहेका उनीहरूकै घरगोठमा सारिएको जानकारी दिए । उनका अनुसार चक्रबहादुर बरुवाल, दुर्गाबहादुर बरुवाल, गणेश खड्का, रगुन खड्का, मनबहादुर बरुवाल र नेत्रबहादुर खड्काको परिवार विस्थापित भएका हुन् । 

सामान्य जोखिममा रहेका दुई परिवारलाई सतर्कता अपनाउन अनुरोध गरिएको वडाध्यक्ष खड्काले बताए । उनका अनुसार घारखोलाको आउटलेटको दुई किलोमिटर वरपरको क्षेत्र धाँजा फाटेर खेतीयोग्य जमिन र बस्ती जोखिममा परेको हो । 

जनप्रतिनिधि, सुरक्षाकर्मीले घरका सामग्री सार्न सहयोग गर्नुका साथै अन्नपूर्ण गाउँपालिकाले प्रारम्भिक राहत सामग्री सहयोग गरेको छ । विस्फोटक पदार्थको प्रयोग गरेर घारखोलाको सुरुङ खन्ने क्रममा भएको कम्पनको असर अहिले देखिन थालेको स्थानीयले बताएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्