
नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–४ धारापानीमा करिब २२ हजार ब्रोइलर कुखुरा मरेका छन् । अन्नपूर्ण रिसर्च फार्म सेन्टरमा रहेका २२ हजार ब्रोइलर कुखुरा आज बिहान अचानक मरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले शङ्कर टण्डनको फार्ममा रहेका ६० हजार ब्रोइलर कुखुरामध्ये २२ हजार मरेका जानकारी दिए । फार्मका तीनवटा कोठामा विद्युत् आपूर्तिमा समस्या भएपछि कुखुरा मरेका हुनसक्ने उनले बताए ।
'वातानुकुलित (एसी) जडान गरिएको फार्ममा बिहीबार रातिदेखि विद्युत् आपूर्तिमा समस्या आएको रहेछ,' प्रनाउ पौडेलले भने, 'अक्सिजनको कमी तथा गर्मीका कारण कुखुरा मरेको भन्ने सञ्चालकको भनाइ छ ।' टण्डनले पाल्नुभएको कुखुराको बीमासमेत नभएको उनले बताए ।
बीमा कम्पनीले सरकारबाट पाउनुपर्ने प्रिमियम नपाएपछि पक्षी बीमा रोकिएको उनले बताए । फार्ममा रहेका अन्य धेरै कुखुरासमेत झोक्राइरहेको भन्दै ती कुखुरासमेत मर्नसक्ने सञ्चालकलाई उदृत गर्दै पौडेलले बताए ।
मरेका कुखुराको सङ्ख्या यकिन गर्न फार्म सञ्चालक, स्थानीय जनप्रतिनिधि र प्रहरीहरू खटिएका छन् ।