
इजरायली आक्रमणबाट गाजापट्टीमा थप ३२ जनाको ज्यान गएको छ । यसको पुष्टि हमास नियन्त्रित प्यालेस्टिनी क्षेत्रको स्वास्थ्य मन्त्रालयले शुक्रवार गरेको हो ।
इजरायलको हमाससँगको युद्ध नौ महिनादेखि जारी छ ।
युद्धविराम र बन्धक मुक्तिको सम्झौतामा पुग्ने दिशामा वार्ता जारी रहँदा तटीय क्षेत्रको उत्तरदेखि दक्षिणसम्म लडाइँ भइरहेको हो ।
हमासका लडाकुले अक्टोबर ७ मा कम्तीमा एक हजार २०० जनाको ज्यान लिने गरी दक्षिणी इजरायलमा आक्रमण गरेको थियो । साथै २०० भन्दा बढी बन्धक बनाएपछि जवाफमा इजरायलले गाजा क्षेत्रमा हमासविरूद्धको कारबाही शुरू गरेको थियो ।
इजरायली सेनाद्वारा निरन्तर गरेको आक्रमणको पछिल्लो श्रृङ्खलामा मृत्यु भएका ३२ जना प्यालेस्टिनीमध्ये अधिकांश बालबालिका र महिला रहेको गाजाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
हमास निकटस्थ सञ्चारमाध्यमले उत्तरमा गाजा शहर, मध्यक्षेत्रमा नुसिरात शरणार्थी शिविर, दक्षिणमा खान युनिस र रफाहका धेरै स्थानमा ७० भन्दा बढी हवाई आक्रमण भएको रिपोर्ट गरेको छ ।
इजरायली सेनाले इजिप्टको सीमानजिकै रहेको रफाहमा अपरेसन जारी राखेको बताएको छ ।