१३ साउन २०८३, बुधबार

कालीगण्डकी कोरिडोर ३ दिनदेखि अवरुद्ध: दूध ढुवानीमा सास्ती भोग्दै किसान

असार २९, २०८१
काठमाडौं
कालीगण्डकी कोरिडोर ३ दिनदेखि अवरुद्ध: दूध ढुवानीमा सास्ती भोग्दै किसान

ढोरपाटन-कालीगण्डकी कोरिडोर तीन दिनदेखि अवरुद्ध छ । यही असार २६ गतेको भारी वर्षाका कारण ठाउँ–ठाउँमा पहिरो खसेपछि कोरिडोर अवरुद्ध भएको हो । 

कोरिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा सडकको बीच भागबाटै पहिरोले भासिएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङसँग सीधा यातायात विच्छेद भएको छ । असार २१ गतेको खसेको पहिरोले सडक भासिएपछि पाँच दिनसम्म अवरुद्ध बनेको कोरिडोर असार २६ गते करिब तीन घण्टा सञ्चालनमा आएको थियो । सडक मर्मतका लागि मशिन र कामदार खटाए पनि वर्षाका कारण काम गर्न समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक वसन्त भुजेलले जानकारी दिए । अवरुद्ध सडक खुलाउन प्रयास गरिए पनि वर्षाले हालसम्म सञ्चालनमा ल्याउन नसकिएको उनको भनाइ छ । 

कोरिडोरबाहेक जिल्लाका अन्य सडक सञ्चालनमा रहेको प्रहरी निरीक्षक भुजेल बताए । उनले भने, ‘पानी पर्ने बित्तिकै पहिरो खस्छ, पहिरोले बगाएको पर्खाल निर्माण गर्न बाँकी छ ।’

कोरिडोर अवरुद्ध सडक सञ्चालनमा नआउँदा दक्षिण बागलुङसँग सीधा यातायात सम्पर्क हुन सकेको छैन । यातायात सञ्चालन नहुँदा यात्रुले सास्ती खेपिरहेका छन् । किसानले उत्पादन गरेको दूध सहज रुपमा बजारमा ल्याउन सकेका छैनन् । बागलुङको जैमिनी क्षेत्रबाट मात्रै दैनिक चार सय लिटर दूध बागलुङ बजारमा ल्याउने भए पनि सडक अवरुद्ध हुँदा पर्वतको कुश्मा हुँदै आउनुपर्ने अवस्था रहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । अहिले यात्रु कैयाको झोलुङ्गे पुल र यान्त्रिक पुल तरेर कुश्मा पुगेर आउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।

सडक अवरुद्ध हुँदा दूध ढुवानीमा समस्या परेको जैमिनी नगरपालिका–२ का राजन सापकोटाले बताए । उनले सडक सञ्चालन हुँदा दैनिक रु सात सयमा बागलुङ बजारमा दूध ल्याउने गरेको सुनाउँदै अहिले केबलकारको प्रयोग गर्दै रु दुई हजार तिर्नुपरेको गुनासो पोखे । पहिरोले लामो समयसम्म सडक बन्द हुँदा सबैभन्दा बढी मारमा किसान परेको सापकोटाले सुनाए ।

‘बाटो बन्द भएको धेरै दिन भयो, २६ गते एकैछिन खुल्यो, त्यसपछि फेरि बन्द भयो, यतिका दिनसम्म खुलेको छैन, अझै कति दिन लाग्ने हो, हामीहरू निकै मारमा पर्यौँ । दूध बजार नलैजाउँभन्दा बिग्रिन्छ, लैजाउँभन्दा बाटो बन्द छ,’ उनले भने, ‘अहिले केबलकार तारेर कुश्मा जान्छौँ, कुश्माबाट बल्ल बागलुङ बजारमा दूध ल्याउँछौँ ।’ –रासस–

salt training

कमेन्ट गर्नुहोस्