
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्य शनिवार बिहानैदेखि शुरू गरिएको छ ।
बेपत्ता दुई बस शुक्रवार फेला नपरेपछि फेरि आज बिहानैदेखि खोज्ने काम शुरू गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रवारका लागि स्थगित भएको थियो । त्रिशूलीमा खसेका दुई बस बिहानैदेखि खोजिए पनि साँझसम्म नभेटिएकाले स्थगित गरिएको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार त्रिशूलीमा हराएका बस खोज्न सशस्त्रका चार, नेपाल प्रहरीको एक गरी पाँचवटा मोटरबोट, गोताखोर टोलीलगायत प्रयोग गरिएको छ ।
भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।
दुई बसमा सवार कम्तीमा ४८ यात्रु हराइरहेका छन् ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्री पदमा नियुक्ति आइतबारमात्रै हुने भएको छ । शुक्रबार कांग्रेसको समर्थनमा ओलीले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी पेस गरेपनि नियुक्ति र शपथ भने आइतबार मात्रै हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
‘उहाँको शपथ र नियुक्ति आइतबारमात्रै हुन्छ । त्यसअघि पेश हुन आएका निवेदनबारे राष्ट्रपतिज्यूले अध्ययन गर्नुहुन्छ’, राष्ट्रपतिको सचिवालयले जनायो ।
प्रधानमन्त्री प्रचण्ड विश्वासको मत नपाएपछि शुक्रबार पदमुक्त भएसँगै राष्ट्रपतिले साँझ बहुमतको सरकार गठनका लागि आइतबारको समयसीमा दिएर आह्वान गरेका थिए ।
००००
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार नबन्दासम्म पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई कामचलाउ तोकेका छन् ।
राष्ट्रपति कार्यालयले शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशित गरी प्रचण्डको मन्त्रिपरिषद्लाई कामचलाउ तोकेको हो ।
००००
तेस्रो दलका रूपमा प्रधानमन्त्री बनेर चारपटकसम्म विश्वासको मत पाए पनि पाँचौ पटकमा भने पुष्पकमल दाहाल प्रचण्ड चुकेका छन् । दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउने समझदारीपछि शुक्रबार प्रचण्ड विश्वासको मत लिन असफल रहे ।
उपस्थित २५८ सांसदमध्ये प्रचण्डले जम्मा ६३ सांसदको मात्रै समर्थन पाए । जबकी उनको प्रस्तावको विपक्षमा १९४ मत र्पयो । प्रचण्डले विश्वासको मत नपाएसँगै कांग्रेस र एमाले नयाँ सरकार गठनको प्रक्रियामा अगाडि बढेका छन् ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि शुक्रबार आफ्नो भाडाको निवास खुमलटार फर्किएका छन् ।
प्रचण्ड खुमलटार फर्किएको असार २८ गतेको दिन नेपाली राजनीतिमा अनौठो संयोग परेको छ । अर्थात २०७८ असार २८ गते सर्वोच्च अदालतको परमादेशबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका थिए ।
त्यतिबेला ओलीलाई बालुवाटारबाट बालकोट पठाउने योजनाका मुख्य पात्र प्रचण्ड थिए । तत्कालीन नेकपाको एउटा अध्यक्ष रहेका प्रचण्डले ओलीविरुद्ध पार्टीमा आरोपपत्र दर्ता गरेपछि उत्पन्न विवाद उत्कर्षमा पुग्दैगर्दा ओलीले प्रतिनिधि सभा विघटन गरेका थिए ।
००००
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक स्थायित्वको नाममा कांग्रेस र एमालेले देशलाई २०४७ सालतिरै फर्काउन खोजेको आरोप लगाएका छन् । प्रतिनिधिसभाबाट शुक्रबार विश्वासको मत लिने क्रममा शुक्रबार प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको नाममा खेलाँची गर्न खोजेको र अस्थिरता बढाउन खोजेको आरोप लगाए ।
‘संविधान संशोधनको जटिल विषयमा खेलाँची नगर्नु होला । संविधानजस्तो विषयमा सर्वस्वीकार्यता आवश्यक हुन्छ । राष्ट्रिय सभामा माओवादी सबैभन्दा ठूलो दल हो । ठूलो दललाई किनारा लगाएर संविधान संशोधन कसरी हुन्छ ? स्थिरताको लागि नाममा समावेशी प्रतिनिधित्व समानुपातिक प्रतिनिधित्व समाप्त गर्न खोज्नुभएको षड्यन्त्र हो,’ प्रचण्डले भने, ‘तपाईंको इच्छा ४७ सालको वरिपरि फर्काउन होला भन्ने लाग्छ मलाई ।’
नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रचण्डलाई संसद्मा प्रतिपक्षमा नराखी प्रधानमन्त्री बनाउनु गल्ती भएको टिप्पणी गरेका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा प्रचण्डले विश्वासको मत माग्ने प्रस्ताव पेश गरेपछिको छलफलमा लेखकले प्रचण्ड प्रतिपक्षमा बस्न सुहाउने व्यक्ति भएको टिप्पणी गरेका हुन् ।
नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई गीतमार्फत् नै जवाफ दिएका छन् । प्रधानमन्त्री प्रचण्डले मागेको विश्वासको मतमाथिको छलफलमा भट्टराईले प्रचण्डलाई गीतमार्फत् नै जवाफ दिएका हुन् ।
जवाफमा भट्टराईले उदित नारायण झा र दीपा झाले गाएको र कालीप्रसाद रिजालको शब्दमा रहेको गीतमार्फत् जवाफ फर्काएका हुन् ।
गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध फाइल खोलेको २४ घण्टामा सरकार ढालिएको दाबी गरेका छन् ।
प्रचण्डले विश्वासको मतको लागि गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै लामिछानेले बेचन झा र प्रतीक थापा पक्राउ परेपछि सरकार ढालिएको दाबी गरेका हुन् ।
नेकपा एकीकृत समाजवादीमा नेता मेटमणि चौधरीले अहिले बनेको नयाँ समीकरणमा पनि चार महिनापछि फाटो आउने दाबी गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन गरेको प्रस्तावमाथिको छलफलमा भाग लिँदै चौधरीले चार महिना धैर्यता गरे अब बन्ने सरकार फेरि टुट्ने दाबी गरेका हुन् ।
००००
‘क्यास एप’मार्फत ५ करोड रुपैयाँ बराबरको कारोबार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् ।
अवैध कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
००००
मौसम विभागले रेड अलर्ट जारी गरेका जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाइने भएको छ ।
शुक्रबार गृह मन्त्रालयमा यातायात व्यवसायीसँग भएको छलफलमा रेड अलर्ट जारी भएका जिल्लामा रात्रिकालीन यातायात सञ्चालनमा रोक लगाउने निर्णय भएको उपप्रधान तथा गृहमन्त्री रवि लािमछानेले जानकारी दिए ।
००००
अविरल वर्षाका कारण आएको बाढी पहिरोका कारण शुक्रबार १८ जनाको मृत्यु भएको छ । कास्की, म्याग्दीलगायतका जिल्लामा भएको घटनामा १८ नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।