२० असार २०८३, शनिबार
प्राकृतिक प्रकोप अपडेट

त्रिशूलीमा बेपत्ता दुई बसको खोजी जारी, वाटर ड्रोनदेखि सोनार क्यामेरासम्मको प्रयोग

असार २९, २०८१
काठमाडौं
त्रिशूलीमा बेपत्ता दुई बसको खोजी जारी, वाटर ड्रोनदेखि सोनार क्यामेरासम्मको प्रयोग

चितवनको सिमलतालस्थित नारायणगढ–मुग्लिन सडकमा आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुई बसको खोजी कार्यमा विभिन्न प्रविधि अपनाइएको छ ।

दोस्रो दिनको खोजी कार्य आज (शनिवार) बिहानैदेखि जारी रहेको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले लोकान्तरलाई जानकारी दिए ।
 
खोजी कार्यमा पानीभित्र प्रयोग गरी खोज्न सकिने वाटर ड्रोन, सोनार क्यामेरा, पाइपलाइन इन्सपेक्सन सिस्टम आदि प्रविधि प्रयोग गरिएको उनले बताए । 

खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेना गरी तीनवटै सुरक्षा संयन्त्र प्रयोग गरिएको उनकाे भनाइ छ ।

‘खोजी कार्यका लागि चाहिने अधिकतम प्रविधि प्रयोग गरेका छौँ । तीनवटै सुरक्षा संयन्त्रसँगै तालिमप्राप्त गोताखोर खटिरहेका छन्,’ उनले भने ।

र्‍याफ्टबोटमा जडान गरेर पानीभित्रका बस्तुहरू हेर्न सोनार क्यामेराले सहयोग पुर्याउने सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

null 

यात्रुसहित त्रिशूलीमा बेपत्ता दुईवटा बसको खोजी शुक्रवारका लागि स्थगित भएको थियो । त्रिशूलीमा खसेका दुई बस बिहानैदेखि खोजिए पनि साँझसम्म नभेटिएकाले स्थगित गरिएको थियो ।

बेपत्ता भएका बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । हुक लगाएर खोज्ने क्रममा एञ्जल डिलक्स बसमा लगाइएको पर्दा र एउटा ट्राउजर निकालिएको थियो ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रवार बिहान करिब ३ बजे वीरगञ्जबाट काठमाडौंतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराेले त्रिशूलीमा बगाएको थियो । 

दुई बसमा सवार ४८ यात्रु हराइरहेका छन् ।  
 

salt training

कमेन्ट गर्नुहोस्