०६ असार २०८३, शनिबार

गलकोटमा पहिरोः मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

असार २९, २०८१
काठमाडौं
गलकोटमा पहिरोः मध्यपहाडी लोकमार्ग पूर्ण रुपमा अवरुद्ध

ढोरपाटन– बागलुङमा अविरल वर्षाका कारण पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । शनिवार बिहान लोकमार्गको गलकोट नगरपालिका–१ झाँक्रीस्थानमा पहिरो खस्दा लोकमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङबाट जिल्ला सदरमुकामसम्म सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । पोखरा, काठमाडौंसहित ठूला शहरबाट बागलुङको बुर्तिबाङसहित रुकुम–पूर्व, जाजरकोट, रुकुम–पश्चिम सञ्चालन हुने सवारीसाधन ठप्प हुँदा यात्री बीच सडकका अलपत्र परेका हुन् । 

प्रहरी र स्थानीयको सक्रियतामा पहिरो पन्छाएर सडक खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए । वर्षा हुनेबित्तिकै सडक माथिदेखि लेदोसहितको पहिरो खस्दा लोकमार्गको उक्त खण्ड अवरुद्ध हुँदै आएको उनले बताए । 

‘लोकमार्ग बिहानैदेखि अवरुद्ध छ, अहिले खुलाउने प्रयास भइरहेको छ । सडक अवरुद्ध हुँदा लामो तथा छोटो दूरीमा सञ्चालन हुने यातायातका साधन ठप्प भएका छन्, यहाँ वर्षा हुनेबित्तिकै पहिरो खस्ने समस्या भएकाले यात्रीले सास्ती खेप्नुपरेको छ,’ प्रहरी उपरीक्षक कँडेलले भने ।

लोकमार्गको निसीखोला गाउँपालिका–४ कालापैरामा पनि लेदोसहितको पहिरो झर्दा सडक अवरुद्ध हुँदै आएको छ । -रासस 

salt training

कमेन्ट गर्नुहोस्