०८ असार २०८३, सोमबार

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह

असार २९, २०८१
काठमाडौं
सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई राजीनामा दिन आग्रह

नेपाली कांग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई राजीनामा दिन आग्रह गरेका छन् ।

धनगढीमा शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत उनीहरूले प्रदेश सभामा मुख्यमन्त्री अल्पमतमा परिसकेकाले तत्काल पदबाट राजीनामा दिन माग गरेका हुन् ।  

पत्रकार सम्मेलनमा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले मुख्यमन्त्रीले तत्काल राजीनामा दिँदा नयाँ सरकार गठन र बजेट ल्याउन सहज हुने बताए ।

'अल्पमतमा परिसकेपछि मुख्यमन्त्रीले पद ओगटेर बस्नु उचित हुँदैन,' उनले भने ।

पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा शर्मा र नागरिक उन्मुक्ति पार्टीका नेता घनश्याम चौधरीले पनि मुख्यमन्त्रीलाई राजीनामा  गर्न आग्रह गरे ।

संघमा सत्तासमीकरण परिवर्तन भएसँगै एमाले प्रदेशका मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन यही असार २३ गते फिर्ता लिएको थियो ।

एमालेले समर्थन फिर्ता लिँदै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई फिर्ता बोलाएपछि मुख्यमन्त्री अल्पमतमा परेका छन् ।  

एमालेले सरकारबाट बाहिरिएसँगै सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट पारित हुने वा नहुने भन्नेमा अन्योल देखिएको छ ।

बजेट माथिको छलफल प्रदेशसभामा अझै शुरू हुन सकेको छैन ।

नयाँ गठन हुने सरकारले सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पारित नगरेर अध्यादेशमार्फत अर्को बजेट ल्याउने तयारी गरेको कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले बताए ।

प्रदेश सरकार गठनका लागि २७ सदस्यको बहुमत आवश्यक हुन्छ ।

त्रिपन्न सदस्यीय प्रदेशसभामा  कांग्रेसका १८, नेकपा (माओवादी केन्द्र)का सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा (एकीकृत समाजवादी) पार्टीका ४, राप्रपाको १ र १ स्वतन्त्र सदस्य छन् ।

salt training

कमेन्ट गर्नुहोस्