
लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ परेका छन् । विभिन्न प्रकारका लागूऔषधसहित देशका विभिन्न ठाउँबाट ११ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङको पथरी शनिश्चरे नगरपालिका-९ जरायो टोलबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ५ ग्रामसहित ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय रबिन्द्रराज राई, २९ वर्षीय सनम मगर र ३२ वर्षीय बिरेन्द्र राई रहेका छन् ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस्तै, बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषधजस्तो देखिने खैरो पदार्थ ७ ७० मिलिग्रामसहित बैजनाथ गाउँपालिका-२ बिकाशनगर बस्ने कैलाली चुरे गाउँपालिका-५ घर भएका २० वर्षीय मोहन राना मगरलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाह र लागूऔषध नियन्त्रण ब्यूरो बाँकेबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-१६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ९ सय १ क्याप्सुल, स्पाजमोल ७ हजार ४ सय ९६ ट्याब्लेट, कोलिवन १ हजार १ सय ५५ पिस र नगद ७६ हजार रूपैयाँ सहित सोही ठाउँ डेरागरी बस्ने उदयपुर रामपुर घर भएकी १७ वर्षीया किशोरीसमेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले ती किशोरीको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उता झापाको कमल गाउँपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगरजस्तो देखिने पदार्थ ३ ग्राम र नगद २० हजार रूपैयाँसहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-७ बस्ने ३५ वर्षीय उदय लिम्बु र सोही नगरपालिका-११ बस्ने ३३ वर्षीय जनम चेम्जूङ रहेका छन् ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।