१० साउन २०८३, आइतबार
कांग्रेस संस्थापनइतर समूहको माग

शेखर-गगन पक्षले माग्यो ४ मन्त्रालय, जीवन परियार मन्त्री बन्ने पक्का

असार ३०, २०८१
काठमाडौं
शेखर-गगन पक्षले माग्यो ४ मन्त्रालय, जीवन परियार मन्त्री बन्ने पक्का

नेपाली कांग्रेसको शेखर–गगन समूहले कम्तीमा चार मन्त्रीको माग गर्ने भएको छ । विशालनगरस्थित डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा आइतबार भएको समूहको छलफलमा कांग्रेसले पाउने कूलमध्ये चार मन्त्री आफ्नो समूहले पाउनुपर्ने विषयमा नेताहरू एकमत भएको अर्जुननरसिंह केसीले दिए ।

एमालेसँग मिलेर सरकार गठन गर्दा कांग्रेसले १० वटा मन्त्रालय पाउँदा ४ वटा आफूहरूले पाउनुपर्ने मत बनेको केसीले जानकारी दिए । ‘कांग्रेसले पाउने १० मन्त्रालयमा सामूहिक र उचित ढंगले निर्णय गर्नुपर्छ भन्ने हाम्रो मत छ,’ केसीले लोकान्तरसँग भने, ‘कांगेसले १० मन्त्रालय पाउने स्थितिमा ४ वटा हाम्रो समूहले पाउनुपर्छ भन्ने समान मत बनेको छ ।’

सभापतिले नाम मागेपछि आफ्नो समूहले बुझाउने उनले बताए । आफ्नो पक्षबाट सांसद जीवन परियारको नाम टुंगिएको उनले जानकारी दिए । ‘उहाँ यस अघिदेखि दाबेदार हो । समुदायको प्रतिनिनिधित्वको हिसाबले पनि जीवनजी यसपटक छुट्नु हुन्न,’ केसीले भने ।

परियारबाहेक यसपटक चन्द्र भण्डारी पनि समूहबाट मन्त्रीका लागि अर्का बलिया दाबेदार हुन् । कांग्रेसको शनिबार बसेको कार्यसम्पादन समितिको बैठकले समावेशीता, भूगोल र योगदानकालाई आधार बनाउँदै मन्त्री चयन गर्ने मापदण्ड बनाएको थियो ।

कांग्रेसमा संस्थापनबाट प्रकाशमान सिंह, रमेश लेखक र आरजु राणा मन्त्री बन्ने पक्काजस्तै भइसकेको छ । लेखकले गृह र आरजुले परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।

 यो समूहले ४ वटा मन्त्रालय दाबेदारी गरे पनि संस्थापन २ देखि ३ वटा मन्त्रालय दिने तयारी गरेको छ ।

बैठकले अहिलेको स्थिति चुनौतीपूर्ण रहेको भन्दै दुई ठूला दल मिलेर बनाउने सरकारले जनताको विश्वास जित्न सक्नुपर्ने निर्णय पनि गरेको छ ।

‘अहिलेको स्थिति चुनौतीपूर्ण हो तर सँगै अवसर पनि छ । दुई ठूला पार्टी एक ठाउँमा बस्नु भनेको मौका पनि हो,’ केसीले भने, ‘सम्पूर्ण हिसाबले पार्टी एकताबद्ध भएर नागरिकले खोजेको उपलब्धि हासिल गराउने बाटोमा हिँड्नुपर्छ ।’

शेखरले बोलाएको छलफलमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा समहामन्त्री बद्री पाण्डे र जीवन परियार सहभागी थिए । त्यस्तै नेताहरू अर्जुननरसिंह केसी, ​बलबहादुर केसी, दिलेन्द्र बडु, डा. मीनेन्द्र रिजाल र चन्द्र भण्डारी सहभागी भएका थिए ।

कांग्रेसको समर्थनमा एमाले अध्यक्ष केपी ओली आज प्रधानमन्त्रीमा नियुक्त हुँदैछन् । भोलि ११ बजे उनको प्रधानमन्त्रीले शपथग्रहण गर्ने कार्यक्रम छ ।

salt training

कमेन्ट गर्नुहोस्