गोरखा, ८ कात्तिक- २०५७ चैत्रमा तत्कालीन विद्रोही नेकपा माओवादीका कार्यकर्ताले गोरखा जेल ‘ब्रेक’ गर्दा नेता बाबुराम भट्टराईले पत्रपत्रिकामा ‘स्याबास बहादुर छोरीहरू’ शीर्षकमा लेख नै छपाएका थिए । जेल तोड्ने ६ महिला कार्यकर्तामध्येकी एक थिइन्, कमला नहर्की । उनी अहिले प्रदेशसभाकी उम्मेदवार बनेकी छन् । कुनै बेलाका आफ्ना ‘आदर्श नेता’ भट्टराईले नै नेतृत्व गरेको नयाँ शक्तिलगायतका पार्टीसँग उनको प्रतिस्पर्धा हुनेछ ।

क्षेत्र नम्बर २ को प्रदेश ‘क’ मा पूर्वलडाकु नहर्कीले पूर्वसहपाठी नयाँ शक्तिका हरिशरण आचार्यसँग चुनावी भिडन्त गर्नुपर्ने भएको छ । २०५४ मा गोरखा क्याम्पस पढ्दापढ्दै यी दुवै भूमिगत भएका थिए । माओवादी लडाकुको महिलातर्फ सबैभन्दा उच्च पद ब्रिगेड कमान्डरसम्म भएकी नहर्कीले थुप्रै लडाइँ लडिन् । यसपालि आफ्नै पूर्व ‘आदर्श नेता भट्टराई’ र पूर्वसहकर्मी आचार्यसँग चुनावी भिडन्त गर्नुपर्नेछ । क्षेत्र नम्बर २ कै प्रतिनिधि सभामा भट्टराई चुनाव लड्दै छन् । ‘बाबुराम दाइलाई आदर्श ठानेर जनयुद्धमा लाग्यौं, उहिले उहाँसँग नै चुनाव लड्नुपर्ने अवस्था आयो,’ उनले भनिन् । ३६ वर्षीया नहर्की २०५५ मा भूमिगत भएकी थिइन्, कान्तिपुरमा खबर छ ।