
नेपाल-भारत सीमा नाका बेलहिया (सुनौली)लाई व्यवस्थित बनाउन ‘वाक थ्रू’ मशिन सञ्चालनमा ल्याइएको छ । यो मशिनले भारतबाट नेपाल प्रवेश गर्नेहरूलाई व्यवस्थित रूपमा चेकजाँच गरी प्रवेश दिइने छ ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको पहलमा नेपालकै दोस्रो ठूलो बेलहिया नाकालाई चुस्त बनाउन मशिन जडान गरिएको हो ।
भारततर्फ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पहिलेदेखि नै ‘वाक थ्रू’ मशिन सञ्चालनमा ल्याएको थियो ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा र सिद्धार्थनगर नगरपालिकाको आर्थिक सहयोगमा बेलहिया नाकामा अत्याधुनिक ‘वाक थ्रू’ मशिन राखिएको प्रजिअ अर्यालले जानकारी दिए । अर्यालले मुलुकको शान्ति सुरक्षा कायम राख्न यस्ता उपकरणले महत्वपूर्ण योगदान दिने बताए ।
सीमा नाकाहरू व्यवस्थित बनाउन गृह प्रशासनको तर्फबाट आवश्यक सबै किसिमका काम र सहयोग हुनेछ । अर्यालले सीमा नाकालाई व्यवस्थित गर्ने प्रयास स्वरूप ‘वाक थ्रू’ मशिन राखेर काम गरेको बताए ।
‘भारततर्फ जाँदा १/१ गरेर ‘वाक थ्रू’ मशिनमा जाँच गरेर बल्ल प्रवेश दिइन्छ,’ अर्यालले भने । नेपाल प्रवेश गर्ने सबैलाई जाँच गरिने र भारततर्फ जानेलाई पनि शंका लागे त्यहाँ रहेका सुरक्षाकर्मी ‘वाक थ्रू’ मशिनमा जाँच गर्ने बताए ।
सिद्धार्थनगर नगरपालिकाको साढे ५ लाख लगानीमा जिल्ला प्रशासन कार्यालयले ‘वाक थ्रू’ मशिन खरिद गरेको थियो ।
नगर प्रमुख इश्तियाक अहम्मद खाँले सिद्धार्थनगरबासीलाई सुरक्षित र भयरहित वातावरणमा आफ्नो पेसा–व्यवसाय गर्ने तथा दैनिकी सञ्चालन गर्ने अवस्था सिर्जना गर्न प्रशासनसँग मिलेर काम गरिरहेको बताए ।
सीमा नाकामा ‘वाक थ्रू’ मशिन जडान गरेसँगै सिमानाका बाट हुने अवैध कारोबार नियन्त्रणमा सहयोग पुग्ने सुरक्षा निकायले अपेक्षा गरेको छ ।