०७ असार २०८३, आइतबार
नयाँ गृहमन्त्रीसामु चुनौतीका चाङ

गृह मन्त्रालयमा लेखकः प्रहरीमा खस्किएको मनोबल उकास्ने मुख्य चुनौती

असार ३१, २०८१
काठमाडौं
गृह मन्त्रालयमा लेखकः प्रहरीमा खस्किएको मनोबल उकास्ने मुख्य चुनौती

गृहमन्त्रीका रुपमा नेपाली कांग्रेसका नेता रमेश लेखकले साेमवार पदभार ग्रहण गरेका छन् । नयाँ सत्ता समीकरणमा महत्वपूर्ण भूमिका खेलेकै आधारमा पार्टी सभापति शेरबहादुर देउवाले लेखकलाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारीमा पठाएकाे कांग्रेसभित्र चर्चा छ । 

राज्यको सम्पूर्ण सूचना पाउने ठाउँमा लेखकको ‘इन्ट्री’ लाई स्वयं कांग्रेसले समेत अर्थपूर्ण रुपमा लिएको छ । संसदको प्रतिपक्षको सीटमा बस्दा लेखकले गृह प्रशासन सुधारका विषयमा खरो रुपमा टिप्पणी गर्दै आएका थिए । अब उनी आफैँ गृह प्रशासन सुधार गर्ने जिम्मेवारीमा पुगेका छन् ।

गृह मन्त्रालयको जिम्मेवारी लेखकका लागि नयाँ हो । गृहअन्तर्गत पर्ने राज्यका तीनवटा सुरक्षा निकाय नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र सबै जिल्ला प्रशासन कार्यालयका प्रमुख (प्रमुख जिल्ला अधिकारी) का कामकारबाही गृहकै मातहतमा पर्छन् । अब यी निकायको सञ्चालन र कामकारबाहीको अनुगमन, निगरानीसँगै ‘चेन अफ कमान्ड’लाई कसरी दिगो राख्न सक्छन्, लेखकको आगामी कार्यशैलीले देखाउने नै छ । 

सुरक्षा निकायमा राजनीतिक हस्तक्षेप भइरहेको तथ्य ‘ओपन सेक्रेट’ जस्तै छ । गृहमन्त्रीका रुपमा कार्यभार सम्हालेपछि सबैजसोले कसैको दबाब, प्रभाव नमान्ने र गलत निर्देशन नदिने प्रण गर्छन् । तर, व्यवहारमा त्यो पाइँदैन । स्वार्थपूर्ण निर्णयमा गृहमन्त्री हाबी हुँदा सुरक्षा निकायबीचको चेन अफ कमान्ड खल्बलिँदै आएको छ । 

मुलुक संघीयतामा गए पनि नेपाल प्रहरी अहिलेसम्म केन्द्रीय संरचनामै अल्झिरहेको छ । प्रदेशमा प्रहरी समायोजन गर्ने चुनौती गृहमन्त्री लेखकमा छ । प्रदेश प्रहरी कार्यालयको कमान्ड प्रहरी नायब महानिरीक्षक (डीआईजी)ले गरिरहेका छन् । तर, उनीहरू केन्द्रबाटै सञ्चालित छन् । गृहले प्रदेशमा प्रहरी समायोजनको विधेयकको मस्यौदा तयार पारिसकेको छ । तर, प्रदेश सरकारले सरुवा–बढुवा सँगै उनीहरूलाई कारबाही गर्ने दर्जाको अझै टुंगो लागेको छैन । प्रदेश सरकारले डीएसपीसम्म प्रदेशमै समायोजन हुनुपर्ने माग राखेका छन् । तर, प्रहरी मुख्यालयले प्रहरी नायब निरीक्षक (सई)सम्मका दर्जालाई मात्रै समायोजन गर्नुपर्ने प्रस्ताव गृहमा गरिसकेको छ ।

null 

नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी सुरक्षा निकायलाई साथमा लिएर गृहमन्त्रीले समन्वयात्मक भूमिकामा काम गर्नुपर्ने बताउँछन् । ‘पदीय जिम्मेवारी लिँदा सबै काम गर्छु भन्ने तर, फेरि सुरक्षा निकायलाई अनुचित दबाब दिने र मनपरी निर्णय गर्दै जाने प्रवृत्तिले निरन्तरता पायो भने पुराना र नयाँमा कुनै फरक हुँदैन,’ ठकुरीले भने,‘ गृहमन्त्रीले प्रहरीलाई आवश्यक पर्ने ऐन–कानून र स्रोतसाधन जुटाइदिनुपर्छ । अपराध अनुसन्धानमा कुनै दबाब दिनु हुँदैन र सरुवा–बढुवामा अनावश्यक चासो राख्नु हुँदैन ।’  

सुरक्षा निकायको मनोबल उच्च राख्नुपर्ने चुनौती

यस्तोमा गृहमन्त्री लेखकसामु सुरक्षा निकायको मनोबल उच्च राख्नुपर्ने प्रमुख चुनौती छ । सुरक्षा निकायलाई साथ लिएर काम गरेमात्रै उनी सफल हुन सक्छन् । 

सरुवा–बढुवामा राजनीतिक भनसुन र दबाब अझै चल्छ । कार्यक्षमता र कार्यदक्षताका आधारमा सरुवा–बढुवा हुनुपर्ने मापदण्ड अहिले पनि कार्यान्वयनमा छैन । गृहमन्त्री र सचिवसँगै राजनीतिक दलको भनसुन र दबाबमा निर्णय हुँदै आएका छन् । रोजेको ठाउँमा जान भनसुन अझै चल्दै आएको छ । जसका कारण राम्रा र क्षमतावान प्रहरी अधिकारीहरू जहिल्यै चेपुवामा पर्दै आएका छन् । यो प्रवृत्तिलाई गृहमन्त्री लेखकले चिर्नुपर्ने सुरक्षासम्बद्ध मानिसहरूको भनाइ छ । राजनीतिक दलको दबाब र प्रभावमा प्रहरीको सरुवा–बढुवालाई तथ्यपरक गराउन सके गृहमन्त्री लेखकले सुरक्षा निकायको मनोबल उच्च राख्न सक्ने सरोकारवालाको विश्वास छ । 

सुरक्षा निकायलाई व्यावसायिक बनाउनु पर्ने 

देशको अर्थतन्त्र उकास्ने दुई निकाय राजश्व अनुसन्धान विभाग र भन्सार कार्यालय हुन् । तर, राजश्वसँगै भन्सार छली गरेर ल्याएका समान समातेर उल्टै लिइ छाड्ने प्रवृत्ति विद्यमान छ । जसलाई प्रहरीको भाषामा ‘सेटिङ’ भनिन्छ । त्यो सेटिङ भत्काउने चुनौती गृहमन्त्री लेखकसामु छ । सीमा कार्यालयबाट हुने तस्करी नियन्त्रण गर्न सके खुम्चिएको अर्थतन्त्र माथि उठ्ने विश्वास गर्न गरिन्छ । 

त्यस्तै जनतासँगै प्रत्यक्ष सम्पर्कमा रहने नेपाल प्रहरीले गर्ने कामकारबाहीलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई सुरक्षा निकायलाई व्यावसायिक बनाउने चुनौती पनि लेखकसामु छ । सुरक्षा निकायकै शब्दमा लाइने खाने, महिनावारी उठाउने र सेटिङ मिलाउनेजस्ता गतिविधि नियन्त्रणका लागि गृहमन्त्री निर्मम हुनुपर्ने कतिपयको सुझाव छ । 

नागरिकता र राष्ट्रिय परिचयपत्रको सहज वितरण

अहिले पनि नागरिकता र राष्ट्रिय परिचयपत्र वितरणमा सर्वसाधरणले धेरै झन्झट व्यहोर्दै आएका छन् । ती झन्झटलाई पार लगाएर सहजै वितरण गर्ने व्यवस्था मिलाउनुपर्ने देखिन्छ । गृह मातहतका कर्मचारीहरूसँग मन्त्री लेखकले समन्वयकारी भूमिका खेल्नुपर्ने हुन्छ । नीतिगत तहमा हुने निर्णयमा गृह सचिवको समेत साथ लिनुपर्ने भएकाले विशेषगरी उनीसँगको समन्वय महत्वपूर्ण हुन्छ । 

हचुवाका भरमा हुने सरुवा–बढुवा रोक्ने 

निवर्तमान गृहमन्त्री रवि लामिछानेमाथि आफ्ना कार्यकर्ताले भनेकै आधारमा हचुवाको भरमा जिल्ला प्रमुखमा पठाइएका प्रहरी अधिकारीलाई भटाभट तानेको  आरोप लागेको छ । उनीहरूलाई एकपटक स्पष्टीकरणको मौकासमेत नदिएको गुनासो सुनिन्छ । आफ्ना कार्यकर्ताले गुनासो गरेकै आधारमा प्रहरी अधिकारीहरू तान्ने कि सत्यतथ्य बुझेर मात्रै निर्णय गर्ने भन्ने चुनौती गृहमन्त्री लेखकमा छ ।

बरु प्रहरी अधिकारीको ‘ट्रयाक रेकर्ड’ हेरेर मात्रै उनीहरूलाई महत्वपूर्ण जिम्मेवारी दिने निर्णयमा लेखक पुग्नुपर्ने देखिन्छ । लामिछानेमाथि कार्यकर्ताले भनेकै आधारमा मधेश प्रदेशका अधिकांश जिल्ला प्रमुखहरूलाई केन्द्रमा तानेको आरोप लागेको छ ।   

प्रहरी ऐनलाई पूर्णता दिनु पर्ने

हाल नेपाल प्रहरी २०१२ मा बनेको ऐनअनुसार चलिरहेको छ । ऐनलाई समयसापेक्ष बनाउन अहिले गृहमा मस्यौदा बनाउने काम भइरहेको छ । प्रहरी अधिकारीको पदावधि घटाउने र ३० वर्षे सेवाअवधि हटाउने विषय नयाँ ऐनमा समेटिने भएको छ । तर, स्वार्थसमूह हाबी हुँदा ३० वर्षे सेवाअवधि हट्ने विषय परपर धकेलिएको छ । निवर्तमान गृहमन्त्री लामिछानेले शुरूकै ब्रिफिङमा ३० वर्षे सेवाअवधि हटाउने बताएपनि कार्यान्वयन गराउन सकेनन् ।

फिल्डमा खटिने तल्लो तहका प्रहरी कर्मचारीको मनोबल बढाउन जवान र हबल्दारको पेन्सन अवधि १६ वर्ष र कनिष्ठ प्रहरी अधिकारीको पेन्सन अवधि १८ वर्ष बनाउनुपर्ने प्रस्ताव प्रहरी मुख्यालयले पटक–पटक गरेपनि कार्यान्वयन हुन नसकेको हो । यो विषय ऐनमै समेटेर लैजाने चुनौती नयाँ गृहमन्त्री लेखकमा छ ।

null 

भत्काउलान् सुरक्षा फौजभित्रको गुट–उपगुट ? 

प्रहरी नेतृत्वमा पुगेपछि आफ्नै ‘ब्याचमेट’लाई देख्नै नचाहने प्रवृत्ति अहिले पनि सुरक्षा फौजमा रहेको बताइन्छ । अझ यो प्रवृत्ति नेपाल प्रहरीमा चरमउत्कर्षमा पुगेको स्वयं त्यहीँका अधिकारीहरू बताउँछन् । उनीहरूका अनुसार प्रहरीमा गुट–उपगुट मौलाएको छ । प्रहरी अधिकारीले नै आफ्ना ब्याचमेटलाई देखि नसहने प्रवृत्तिलाई रोक्नुपर्ने चुनौती गृहमन्त्री लेखकमा छ ।

विश्वासिलो बन्न ‘चेन अफ कमान्ड’लाई बिर्सिएर सिधै गृहमन्त्रीलाई रिपोर्टिङ गर्ने प्रवृत्ति अहिले पनि प्रहरी अधिकारीहरूमा छ । लेखकले यस्ता प्रहरी अधिकारीलाई निरुत्साहित गरी गुनासा तथा घटनाका विवरण महानिरीक्षकमार्फत ब्रिफिङ गर्न लगाउनुपर्ने देखिएको सरोकारवालाहरू बताउँछन् । विगतमा केही एआईजीले चेन अफ कमान्ड नै तोडेर सिधै तत्कालीन गृहमन्त्रीहरू नारायणकाजी श्रेष्ठ र रवि लामिछानेलाई रिपोर्टिङ गरेका उदाहरण नै छन् । 

प्रहरीलाई प्रविधिमैत्री र स्रोतसाधन सम्पन्न बनाउनु पर्ने

अहिले पनि नेपाल प्रहरीका कामकारबाही आधुनिक र प्रविधिमैत्री छैनन् । अपवादबाहेक दुर्गमका जिल्लामा प्रहरीले लाठी र टर्चलाइटका भरमा ड्युटी गर्दै आएका छन् । कतिपय प्रहरी कार्यालयमा न मेस छन्, न शौचालय नै । प्रहरी कार्यालयसमेत भाडाका घरमा सञ्चालनमा छन् । गाडी र अन्य साधन नहुँदा प्रहरीले हिँडेरै ड्युटी गर्नुपरेको अवस्था छ ।

अब गृहमन्त्री लेखकले त्यस्ता अभाव पूर्ति गर्नुपर्ने देखिन्छ । विपद्मा तत्काल प्रहरी खटिनुपर्यो भने सेनाको हेलिकप्टर वा निजी हेलिकप्टर प्रयोग गर्नुपर्ने अवस्था छ । नेपाल प्रहरीसँग हेलिकप्टर हुनुपर्ने माग पहिल्यैदेखि उठेको हो । तर, बजेट अभाव देखाउँदै तत्कालीन सरकारले चासो देखाएन । अहिलेको देशको आर्थिक अवस्था सँगै  प्रहरीलाई प्रविधिमैत्री र स्रोतसाधन सम्पन्न बनाउनुपर्ने चुनौती लेखकमा छ । 

अपराध अनुसन्धानमा अनुचित दबाब दिन नहुने

हाल प्रहरीले अनुसन्धान गर्दै आएको सुन तस्करी, नक्कली भुटानी शरणार्थी, सहकारी ठगीजस्ता मुख्य अपराध छन् । यी घटनामा राजनीतिक दलका नेतासम्म जोडिएका छन् । सहकारी ठगीमा निवर्तमान गृहमन्त्री रवि लामिछाने नै जोडिएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले र कांग्रेसका नेताहरू जोडिएका छन् । सुन तस्करीमा माओवादीका उच्चपदस्थ नेता जोडिएका छन् ।

निर्मला बलात्कार–हत्या पत्ता लगाउनु पर्ने

२०७९ मा कञ्चपुर–३ बाट चुनाव जितेका लेखकसामु अर्को झन् ठूलो चुनौती छ । कञ्चनपुरकै भीमदक्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाका अभियुक्तलाई कानूनको दायरामा ल्याउनु पर्ने चुनौती छ । १० साउन २०७५ मा साथीको घर जान भनी घरबाट निस्किएकी उनको ११ साउनमा उखुबारीमा शव फेला परेको थियो । घटनापछि पाँचपटक गृहमन्त्री फेरिए तर उनीहरूले निर्मलाको हत्यारा पत्ता लगाउन सकेनन् ।

प्रतिपक्षमा बस्दा दोषीलाई कारबाही गर्न गृहमन्त्रीले किन हात कमाएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीलाई प्रश्न सोध्ने लेखकले आफू पदमा भएका बेला कारबाही गर्छन् वा दलीय दबाबमा पर्छन्, त्यो उनको आगामी कार्यशैलीले बताउने सरोकारवालाहरूको भनाइ छ । 

कमेन्ट गर्नुहोस्