
पर्साबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित तीन जना सांसद सङ्घीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट तीन जना सांसद मन्त्री बनेसँगै यहाँका स्थानीय, बुद्धिजीवी तथा उद्योगी, व्यवसायीमा जिल्लाको समग्र विकास निर्माणसहित राज्यको अन्य क्षेत्रमा उपस्थिति सशक्त र प्रभावकारी हुने विश्वास गरेका छन् ।
पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री नियुक्त भएका छन् ।
क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित भएका सांसद अजयकुमार चौरसिया कानून, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका छन् ।
प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ता सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेको छन् ।
जिल्लामा प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र छन् ।
तीमध्ये क्षेत्र नं १, २ र ३ मा छुट्टाछुट्टै राजनीतिक पार्टीबाट सांसद बनेका तीन जना सङ्घीय सरकारको मन्त्री पदमा नियुक्त भएका हुन् ।
सांसद यादव जनता समाजवादी पार्टीको तर्फबाट, सांसद चौरसिया नेपाली कांग्रेस र सांसद गुप्ता नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तर्फबाट प्रतिनिधित्व गर्नेछन् ।
वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले पर्साबाट तीन जना मन्त्री हुनु जिल्लाको लागि उत्साहको विषय भएको बताए ।
'यहाँका तीनवटै निर्वाचन क्षेत्रका माननीय सांसद मन्त्री बन्नुभएको छ । यो जिल्लाकै लागि गौरवको विषय हो,' उनले भने, 'जिल्लाबाट एकै पटक तीन जना मन्त्री हुँदा यहाँका सडक, पुललगायत पूर्वाधार विकासका साथै विद्यमान समस्या समाधानमा प्रभावकारी योजना बनाएर अघि बढ्नुहुन्छ भन्ने अपेक्षा लिएका छौं ।'
अध्यक्ष अग्रवालले फरक-फरक राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने मन्त्री यहाँबाट बनेसँगै औद्योगिक तथा व्यापारिक शहर विरगञ्जमा सकारात्मक ऊर्जा सञ्चार भएको बताए ।
'तीनवटै पार्टीका सांसदले नागरिकसँग प्रत्यक्ष जोडिएका मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ । आगामी दिनमा जिल्लासँगै मुलुकको विद्यमान समस्या समाधानमा केन्द्रित हुनुहुने विश्वास छ । यसले समग्र मधेस प्रदेशमा नै सकारात्मक सन्देश दिएको छ,' अध्यक्ष अग्रवालले भने ।
जिल्लाबाट नियुक्त तीनै जना मन्त्रीसँग निजीक्षेत्र हातेमालो गरेर अघि बढ्न चाहेको उनको भनाइ छ ।
मधेश विश्वविद्यालयका उपकुलपति दीपक शाक्यले पर्सा जिल्लाले तीन जना मन्त्री पाउनु सबैका लागि खुसीको विषय भएको बताए ।
'पर्सा सधैं उपेक्षामा पर्दै आइरहेको थियो । सङ्घीय सरकारको बजेट र अन्य विकासका योजनामा पर्सा पछाडि नै हुन्थ्यो । तीन फरक पार्टीका शक्तिशाली नेताहरू मन्त्री हुनुभएकाले समग्र जिल्लाको विकासका लागि नयाँ योजना बनाएर प्रभावकारी कार्यान्वयन गर्नुहुन्छ भन्ने आशा र अपेक्षा राखेका छौंं,' उनले भने ।
उपकुलपति शाक्यले सङ्घीय सरकारबाट पछिल्ला केही वर्षयता पर्सा जिल्लाका साथै वीरगञ्ज महानगरका लागि कम बजेट विनियोजन भइरहेकाले पूर्वाधार निर्माण तथा विकासका क्षेत्र प्रभावित भएका भन्दै अब सकारात्मक कार्यसम्पादन हुने विश्वास व्यक्त गरे ।
'यसअघि राजनीतिक पहुँच कम हुँदा विकास निर्माणका काम पनि कम भएका थिए । अहिले जिल्लाबाट तीन जना सङ्घीय सरकारमा सहभागी हुनुभएको छ । अब समग्र विकास निर्माणले गति लिने अपेक्षा गरेका छौं,' उनले भने ।
उपकुलपति शाक्यले नारायणी अस्पताल, नारायणी रङ्गशाला, कोरिडोर, मधेश विश्वविद्यालयका लागि जग्गाको व्यवस्थालगायत पूर्वाधार निर्माण र विकासका क्षेत्रमा तीनै जना मन्त्रीले सहयोगी भूमिका खेल्ने दाबी गरे ।