२४ जेठ २०८३, आइतबार
राउण्ड अप

ओली प्रधानमन्त्री बनेकै दिन सबै मन्त्रालयले पाए मन्त्री, ९ जना नयाँ अनुहार

साउन १, २०८१
काठमाडौं
ओली प्रधानमन्त्री बनेकै दिन सबै मन्त्रालयले पाए मन्त्री, ९ जना नयाँ अनुहार

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शीतलनिवासमा सोमबार आयोजित समारोहमा ओलीले प्रधानमन्त्री पदको शपथ लिएका हुन् । 

एमाले संसदीय दलका नेता ओली चौथोपटक प्रधानमन्त्री बनेका हुन् । ओलीलगत्तै अन्य २१ मन्त्रीले पनि राष्ट्रपतिबाट पदको शपथ लिए । 

सरकारमा दुई उपप्रधानमन्त्री बनेका छन् । जसमा कांग्रेसबाट उपप्रधान तथा शहरी विकास मन्त्रीमा प्रकाशमान सिंह छन् । एमालेबाट विष्णुप्रसाद पौडेल उपप्रधान तथा अर्थमन्त्री बनेका हुन् । 

त्यस्तै, एमालेबाट पृथ्वीसुब्बा गुरुङ सञ्चार र कांग्रेसका रमेश लेखक गृहमन्त्री बनेका छन् । एमालेबाट विद्या भट्टराई शिक्षा, देवेन्द्र दाहाल भौतिक पूर्वाधार, दामोदर भण्डारी उद्योग वाणिज्य, बलराम अधिकारी भूमि व्यवस्था, राजकुमार गुप्ता संघीय मामिला र मानवीर राई रक्षा मन्त्री बनेका छन् । 
कांग्रेसबाट अजय चौरसिया कानून, बद्रि पाण्डे पर्यटन, प्रदीप पौडेल स्वास्थ्य, तेजुलाल चौधरी खेलकुद, रामनाथ अधिकारी कृषि मन्त्री, दीपक खड्का उर्जा, डा आरजु राणा परराष्ट्र र ऐनबहादुर शाही वन तथा वातावरण मन्त्री बनेका छन् । 

लोसपाबाट शरतसिंह भण्डारी श्रम तथा रोजगार, जसपाबाट प्रदीप यादव खानेपानी र नवलकिशोर साह सुडी महिला तथा बालबालिका मन्त्री बनेका हुन् । शपथ लिएकै दिन ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । २५ सदस्यीय मन्त्रिपरिषद्मा अब तीन जनामात्रै राज्यमन्त्री नियुक्त गर्न मिल्छ । मन्त्रालयले भने पूर्णता पाइसकेका छन् ।
००००
ओली नेतृत्वको २२ सदस्यीय मन्त्रिमण्डलमा कांग्रेसबाट ५ र एमालेबाट ४ जना पहिलोपटक मन्त्री बनेका छन् । चौथोपटक प्रधानमन्त्री भएका ओली नेतृत्वको सरकारमा दुई ठूला दलबाट ९ नेता पहिलोपटक मन्त्री बनेका हुन् । 

कांग्रेसले पाएका १० मन्त्रालयमध्ये परराष्ट्रमा आरजु राणा, पर्यटनमा बद्री पाण्डे, स्वास्थ्यमा प्रदीप पौडेल, कृषिमा रामनाथ अधिकारी र वनमा ऐनबहादुर शाही पहिलोपटक मन्त्री बनेका हुन् । 

यस्तै एमालेले ८ जनालाई मन्त्री बनाउँदा ४ नयाँ र ४ पुराना अनुहारलाई पठाएको छ । एमालेबाट शिक्षा मन्त्रीमा विद्या भट्टराई, भौतिक पूर्वाधारमा देवेन्द्र दाहाल, संघीय मामिलामा राजकुमार गुप्ता  र रक्षामा मानवीर राई मन्त्री बनेका नयाँ अनुहार हुन् ।
००००
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुस रकम र ५० लाख ६० हजार रुपैयाँको चेकसहित दुई जनालाई पक्राउ गरेको छ । 
दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार निमन्त्रणमा लिएको हो  ।
००००
नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालबाट पहिरासँगै खसेको दुई बस र धेरै यात्रुको अवस्था पत्ता लाग्न नसकेपछि सरकारले त्यसको खोजीका लागि अन्तर्राष्ट्रिय विज्ञसहितको उद्धार टोली ल्याउन लागेको छ । 

गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख डा भीष्मकुमार भुसालले सोमबार भारतबाट विज्ञसहतिको उद्धार टोली मगाउन परराष्ट्रमार्फत पत्राचार गरिएको जानकारी दिए ।
००००
प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवास बालुवाटार सरेका छन् । प्रधानमन्त्रीको शपथ लिएकै दिन ओली सोमबार निजी निवास बालकोबाट सरकारी निवास बालुवाटार सरेका हुन् । 
००००
नेपाल आयल निगमले पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य बढाएको छ । निगमले आगामी साउन १ गते बिहानदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर रु चार तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु तीनले वृद्धि गरेको हो ।
००००
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबारसम्म १ सय १३ जनाको मृत्यु भएको छ ।

 बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २० जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा १३ जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय १३ जनाको मृत्यु भएको  प्रहरी प्रधान कार्यालयले जनाएको छ । 
००००
सरकारले बाढीपहिरो लगायतका विपद्मा बेपत्ता भई १० दिनसम्म फेला नपरेका व्यक्तिको परिवारलाई मृतकसरह राहत दिने भएको छ । 

सोमबार साँझ सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

यस्तै  कीर्तिपुर क्रिकेट मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने, लीला गड्तौलालाई कायम मुकायम मुख्य सचिव बनाउने, बाढी पहिरोबाट ज्यान गुमाउनेका परिवारलाई राहत दिनेलगायतका निर्णय पनि गरेको छ । 
००००
गृहमन्त्री रमेश लेखकले सिमलतालमा भएको बस दुर्घटनाको अध्ययन गर्न कार्यदल गठन गरेका छन् ।

सोमबार पदभार ग्रहण गरेलगत्तै उनले पहिलो निर्णय चितवनको भरतपुर महानगरपालिकास्थित सिमलताल बस दुर्घटनाको अध्ययन गर्न कार्यदल गठन गरेका हुन् ।
००००
परराष्ट्रमन्त्री आरजु देउवाले छिमेकी मुलुकसँगको कूटनीतिक सम्बन्धलाई अझ परिष्कृत गर्नुपर्ने बताएकी छिन् ।

उनले सोमबार मन्त्रालयमा पदभार ग्रहण गरेसँगै नेपाल सार्वभौम मुलुक भएकाले विदेशी कूटनीतिक सम्बन्धलाई अझ राम्रो बनाएर लैजानुपर्ने बताएकी हुन् ।
००००
नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले काम गरेर देखाउन नसकेसम्म खादा–माला नलगाउने घोषणा गरेका छन् ।

सोमवार स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।
००००
नवनियुक्त शहरी विकास मन्त्री प्रकाशमान सिंहले जनताको चाहनाअनुसारको आधुनिक शहर बनाउने बताएका छन् ।
सिंहदरबारस्थित कार्यालयमा पदभार सम्हाल्दै सिंहले आधुनिक शहर बनाउन मन्त्रालयले दिएको सीमाअनुसार काम गर्ने प्रतिबद्धता जनाएका हुन् ।
००००
नवनियुक्त उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले अर्थतन्त्रको एउटा ऐनाको रूपमा रहेको शेयर बजारलाई सन्तुलित ढंगले अगाडि बढाउने बताएका छन् ।
सोमवार मन्त्रालयमा कार्यभार सम्हाल्ने क्रममा मन्त्री पौडेलले शेयर बजारलाई सन्तुलित ढंगले अगाडि बढाउने बताएका हुन् ।
००००
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी साउन ६ गते विश्वासको मत लिने भएका छन् ।
विश्वासको मत लिने प्रक्रियाको कार्यसूची तयार गर्न सोही दिन बिहान ११ बजे संसद्को कार्य परामर्श व्यवस्थापन समितिको बैठक बस्नेछ ।
००००
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ ।
सोमबार नेप्से परिसूचक १७ दशमलव १८ अङ्कले घटेर दुई हजार दुई सय ४० दशमलव ४१ को विन्दुमा कायम भएको हो ।

salt training

कमेन्ट गर्नुहोस्