२४ असार २०८३, बुधबार
राज्यकोषको चरम दुरूपयोग

तलबी अध्ययन बिदा लिएर गएका नार्कका दर्जनौं वैज्ञानिक विदेशमै बेपत्ता !

१ जनाबाट कम्तीमा २ करोड असुल गर्न बाँकी
साउन १, २०८१
काठमाडौं
तलबी अध्ययन बिदा लिएर गएका नार्कका दर्जनौं वैज्ञानिक विदेशमै बेपत्ता !

तलब, भत्तालगायत सेवासुविधा खानेगरी अध्ययन बिदा स्वीकृत गराई विदेश गएका नेपाल कृषि अनुसन्धान परिषद्(नार्क)का १८ जना कर्मचारी उतै बेपत्ता भएका छन् । अमेरिका, अस्ट्रेलिया र क्यानडा गएका परिषद्‌का कर्मचारीहरू अध्ययन बिदा सकिएको लामो समय भए पनि उतै गायब भएका हुन् ।

परिषद् स्थापना भएदेखि हालसम्म अध्ययन बिदा स्वीकृत गराएर विदेश गएका कति कर्मचारी फर्किएनन् भन्ने एकीकृत अभिलेखसमेत छैन । तर, पछिल्लो केही वर्षदेखि तथ्यांक संकलन गरिएकोमा अध्ययन बिदाको समय सकिए पनि १८ जना कर्मचारीहरू हाजिर हुन नआएको परिषद्‌का तालिम तथा छात्रवृत्ति महाशाखा प्रमुख सुदीप गौतमले जानकारी दिए ।

प्राविधिक अधिकृत देवीराम कँडेल, रामकुमार बस्नेत, विनिता थापा, विकास घिमिरे, सुशीलकुमार गैरे, डा. सुमन कार्की, बुद्धिबहादुर अछामी, अतित पराजुली र उज्ज्वल सुवेदी विदेशमै गायब भएका छन् । त्यसैगरी वैज्ञानिकहरू होमन रेग्मी, अच्युत मिश्र, देवराज चालिसे, किरण बराल, दिनेशबाबु थापामगर, प्रतिष्ठा अधिकारी, राजु चौधरी, नवीनकुमार दंगालसंजिव गौतम पनि विदेशमै गायब भएका हुन् ।

माथि उल्लेख गरिएका कर्मचारीमध्ये अधिकांश अमेरिकामा पलायन भएका हुन् । केही भने अस्ट्रेलिया र क्यानडामा पलायन भएका छन् ।

पीएचडीएमएससीएजी कोर्स अध्ययन गर्न गएका ती कर्मचारीहरू अध्ययन बिदाको समय सकिए पनि कार्यालयमा नफर्किएको गौतमले बताए ।

हेर्नुहोस्,विदेशमै हराएका १८ कर्मचारीहरूको विवरण

null

परिषद्‌का कर्मचारी प्रशासन महाशाखा प्रमुखसमेत रहेका निर्देशक नविन प्रकाश पौडेलका अनुसार ती १८ कर्मचारीहरूमध्ये ४ जनाले विदेशबाटै राजीनामा पठाएको भए पनि स्वीकृत भने गरिएको छैन । 'अमेरिका पढ्न गएकाहरू होमन रेग्मी, अच्युत मिश्र, नविनकुमार दंगाल र उज्ज्वल सुवेदीले अमेरिकाबाटै राजीनामा पठाउनुभएको छ,' पौडेलले लोकान्तरसँग भने, 'हामीले उहाँको राजीनामा स्वीकृत गरेका छैनौं । नियमानुसार असुलउपर गर्नु पर्ने रकम असुल गरेपछि मात्र राजीनामा स्वीकृत गर्ने वा नगर्ने भन्ने निर्णय हुन्छ ।'

तर, विगतमा धेरैजसो कर्मचारीहरूले विदेशबाटै पठाएको राजीनामा स्वीकृत गरिएको पाइएको परिषद्‌का अर्का एक कर्मचारीले लोकान्तरलाई बताए । 'विदेश पढ्न गएकाहरूले अध्ययन बिदाको अवधिसम्मको तलब/भत्ता समेत बुझेर अध्ययन अवधि सकिएपछि विदेशबाटै पठाएको राजीनामा स्वीकृत गरिएको छ,' ती कर्मचारीले थपे, 'कारवाहीको प्रक्रियामा लानुपर्नेमा राजीनामा स्वीकृत गरेर पेन्सन खानेगरी पुरस्कृत गरिएको छ । परिषद्‌को आन्तरिक लेखा परीक्षणमा त्यसलाई बेरुजू ठहर गरिएको छ ।'

नार्क कर्मचारी प्रशासन विनियम, २०४९ का आधारमा स्थायी भएको ३ वर्षपछि ४८ वर्ष उमेर नकटेको अवस्थामा सेवाअवधि भर परिषद्का कर्मचारीले ५ वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ । 'त्यही प्रावधानलाई टेकेर परिषद्‌का कर्मचारीहरूले आफ्नो स्रोत जुटाएर तलब भत्तासहितका सेवा सुविधा पाउनेगरी अध्ययन बिदा लिएर विदेश जानुहुन्छ,' छात्रवृत्ति शाखा प्रमुख गौतमले लोकान्तरसँग भने, 'तर, धेरैजसो कर्मचारीहरू खास गरेर वैज्ञानिक समूहका र प्राविधिक समूहका कर्मचारीहरू उतै सेटल हुने गरेको प्रवृत्ति देखिएको छ ।'

जाँदा कबुलियतनामा,पुगेपछि विदेशबाटै राजीनामा

जाँदा अध्ययन बिदा प्रयोग गरेको अवधिको दोब्बर अवधिसम्म परिषद्‌को निरन्तर सेवा गर्ने कबुलियतनामा गरेर कर्मचारीहरू जाने गर्छन् । उनीहरूले थप सेवा नगरेसम्म अर्को अध्ययन बिदा माग नगर्ने वा बिदा स्वीकृत नगराई गैरहाजिर हुने वा नियमानुसार तिर्नुपर्ने रकम नतिरी राजीनामा दिने काम गर्ने छैन भन्ने कबुल गरेका हुन्छन् ।

null

कर्मचारीले बिदा लिँदा 'यदि मबाट निर्धारित समयभित्र स्वदेश फर्की परिषद्‌मा गर्नुपर्ने सेवा अवधि पूरा नगरेमा वा कुनै पनि कारणबाट परिषद्‌को सेवाबाट अलग भएमा मलाई पदबाट अवकाश दिई अध्ययन अवधिभर मैले प्राप्त गरेको मासिक छात्रवृत्ति, तलब भत्ता, हवाई भाडालगायत सम्पूर्ण रकम तथा मैले अध्ययनपश्चात सेवा गर्नुपर्ने अवधि बराबरको तलब भत्ताको रकमसमेत जोडी मेरो घर, घराना, जाय जेथाबाट सरकारी बाँकी सरह असुल उपरगरी लिएमा मेरो मन्जुर छ,' भनेर कर्मचारीहरूले कबुलियतनामा गरेर अध्ययन बिदा लिने गर्छन् ।

तर, कर्मचारीहरू आफैंले गरेका कबुलियतनामाविपरीत अध्ययन बिदा सकिएपश्चात परिषद्‌मा फर्किनुको साटो विदेशमै हराउने गरेका छन् ।

परिषद्‌का कर्मचारी र प्रशासन महाशाखा प्रमुखसमेत रहेका निर्देशक पौडेलका अनुसार एक जना कर्मचारीबाट कम्तीमा पनि २ करोड रुपैयाँसम्म असुल उपर गर्नुपर्ने हुन्छ । 'तलब, भत्ता, सुविधा, त्यहाँ पढाइ खर्चवापत् लागेको शुल्क, हवाई भाडासहित गर्ने हो भने विदेश पढ्न गएका एक जना कर्मचारीबाट कम्तीमा पनि २ करोड रुपैयाँ असुल उपर गर्नुपर्ने हुन्छ,' पौडेलले लोकान्तरसँग भने, 'तर, कारवाहीको प्रक्रिया जसरी अगाडि बढ्नुपर्ने हो त्यसरी बढ्न नसकेकाले थप कर्मचारीहरू पनि विदेशमै हराउने प्रवृत्ति बढेको छ ।'

त्यसरी विदेशमा हराएका कर्मचारीहरूलाई कारवाही गर्न तथा बेरुजू लेखी असुलउपर गर्न भनेर महालेखा परीक्षकको कार्यालयले परिषद्‌लाई पटकपटक ताकेतासमेत गरिसकेको छ ।

'विदेशमा हराएका कर्मचारीहरूलाई कारवाही स्वरूप सम्बन्धित देशका नेपालस्थित राजदूतावासमार्फत् डिपोट गर्न पत्राचार गर्नसमेत महालेखाले भनिसकेको छ,' पौडेलले थपे, 'तर, परिषद्‌ कर्मचारीहरू त्यसका लागि तयार देखिएका छैनन् । प्राविधिक समूह, वैज्ञानिक समूह भन्दै जोगाउने उद्देश्यले परिषद्‌कै कर्मचारीहरूको असहयोग छ । मैले एक्लै चाहेर हुने कुरा पनि होइन ।'

बिदा सकिएको १९ वर्ष बित्दा पनि पेश गरेनन् प्रमाणपत्र

एक त विदेश जानेहरू विदेशमै हराउने प्रवृत्ति छ भने अर्कोतर्फ विदेशबाट स्वदेश फर्केर परिषद्‌मा काम गरिरहेका कर्मचारीहरूले पनि पढेको हो वा होइन भन्ने कुराको कुनै कागजात वा सर्टिफिकेट परिषद्‌मा पेश गर्न सकेको छैन ।

राष्ट्रिय पशु प्रजनन तथा आनुवंशिक अनुसन्धान केन्द्र खुमलटारका वरिष्ठ वैज्ञानिक सागर पौडेलले सन् २०१० अगस्तदेखि २०१३ जुनसम्म अध्ययन बिदा लिएको ११ वर्ष बितिसक्दा पनि अध्ययन गरेको विषयको शोधपत्र वा प्रमाणपत्र बुझाएका छैनन् ।

त्यसैगरी राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान खुमलटारका मुख्य वैज्ञानिक विनेशमान साखको अध्ययन बिदा सकिएको ११ वर्ष बिते पनि कुनै प्रमाणपत्र पेश गर्न सकेका छैनन् ।

परिषद्‌का तालिम तथा छात्रवृत्ति महाशाखा प्रमुख सुदीप गौतम आफैंले पनि अध्ययन गरेको प्रमाणपत्र परिषद्‌मा पेश गरेका छैनन् । सन् २००३ देखि २००५ सम्म अध्ययन बिदा लिएका गौतमले १९ वर्ष बितिसक्दा पनि अध्ययन गरेको शोधपत्र/प्रमाणपत्र पेश नगरेका हुन् ।

त्यसैगरी युवराज भुसाल, अमरबहादुर पुन, तुलसीप्रसाद पौडेल, पूर्णभद्र चापागाई, राजु कँडेल, जीतनारायण चौधरी, भीमनाथ अधिकारी, नेत्रहरी घिमिरेले शोधपत्र/प्रमाणपत्र पेश गरेका छैनन् । त्यसैगरी वैज्ञानिक जगन्नाथ बन्जाडे, वरिष्ठ प्राविधिक अधिकृत नविनगोपाल प्रधानले पनि परिषदमा प्रमाणपत्र पेश गर्न सकेका छैनन् ।

हेर्नुहोस्,अध्ययन गरे पनि प्रमाणपत्र पेश नगरेका १३ कर्मचारीको विवरण:

null

'वैदेशिक अध्ययनमा विदेश जाने ती कर्मचारीहरूलाई सरकारले छात्रवृत्ति प्रदान गर्दैन । 'आफ्नै प्रयासमा टफेल, आईईएलटीएसको जाँच दिएर अध्ययनको अवसर मिलाउनु हुन्छ,' गौतमले थपे, 'अमेरिका, अस्ट्रेलियालगायत देशमा जाने कर्मचारीहरू नेपालभन्दा राम्रो अवसर पाएर उतै हराउने, सेटल हुने गर्नुभएको छ ।'  

परिषद्‌का१३२ कर्मचारी अहिले पनि अध्ययन बिदामा

पीएचडी गर्न जानेलाई ३ वर्षको, एमएससीएजी गर्न जानेलाई २ वर्ष र बीएससीएजी अध्ययन गर्न जानेलाई ४ वर्षको तलबी अध्ययन बिदा दिने गरिएको छ ।

परिषद्‌ले उपलब्ध गराएको विवरणअनुसार अहिले पनि १३२ कर्मचारीहरू अध्ययन बिदामा रहेको देखिन्छ ।  २०७३ वैशाखदेखि २०७५ चैत मसान्त सम्ममा ९६ जना कर्मचारीहरूले अध्ययन बिदा लिएका छन् । पीएचडी अध्ययन गर्न ६२ जनाले, एमएसजीएजी अध्ययन गर्न १५ जनाले, बीएससीएजी अध्ययन गर्न १५ जनाले र आईएससीएजी अध्ययन गर्न ४ जनाले अध्ययन बिदा लिएका छन् ।

ती कर्मचारीहरूमध्ये आईएससीएजी र बीएससीएजी अध्ययन गर्नेहरूमध्ये अधिकांशले स्वदेशमै अध्ययन गर्न भनेर तलबी अध्ययन बिदा लिएका छन् । तर, पीएचडीएमएससीएजी अध्ययन गर्न जाने कर्मचारीहरूमध्ये धेरैजसो विदेशमा अध्ययन गर्ने भनेर तलबी अध्ययन बिदा लिएका छन् ।

हेर्नुहोस,२०७३ वैशाखदेखि २०७५ चैत मसान्त सम्ममा अध्ययन बिदा लिएका कर्मचारीहरूको विवरण:

null

null

null

त्यसैगरी आर्थिक वर्ष २०७६/०७७ देखि २०८१ वैशाख मसान्तसम्म स्नातक, स्नातकोत्तर र पीएचडी अध्ययन गर्नका लागि भन्दै ३६ जना कर्मचारीहरूको अध्ययन बिदा स्वीकृत भएको छ ।

हेर्नुहोस,२०७६/०७७ देखि २०८१ वैशाख मसान्तसम्म अध्ययन बिदा लिएका कर्मचारीहरूको विवरण:

null

null

यसरी हालसम्म परिषद्का कति कर्मचारीहरूले अध्ययन बिदा लिएका छन्, कति जना अध्ययनपश्चात स्वदेश फर्किएर परिषद्‌मा हाजिर भए, कति जना विदेशमै हराए त्यसको कुनै अभिलेख छैन । महालेखा परीक्षक कार्यालयको वार्षिक प्रतिवेदनअनुसार परिषद्‌का २७४ जना कर्मचारीहरू अध्ययन बिदामा गएका छन् ।

एमएससीएजी पढेका कर्मचारीहरू वैज्ञानिक समूहमा र बीएससीएजी पढेका कर्मचारीहरू प्राविधिक समूहमा नियुक्ति लिएका हुन्छन् ।

वैज्ञानिक समूहका कर्मचारीहरूलाई एस-१ देखि एस-८ तहसम्म राखिएको छ । एस-१ र एस-२ लाई उपसचिव सरह मान्यता दिइएको छ भने एस-३ र एस-४ लाई सहसचिव सरहको मान्यता दिइएको छ । एस-५ र एस-६ लाई सहसचिवभन्दा माथि र सचिवभन्दा कम तहको भनेर परिषद्‌मा नियुक्ति गरिएको छ । परिषद्‌ एस-८ तह सम्मको प्रावधान रहे पनि एस-६ तहसम्म मात्र दरबन्दी कायम गरिएको छ ।

त्यसैगरी प्राविधिकतर्फ नियुक्त कर्मचारीलाई टी-१ देखि टी-६ सम्म तह बाँडिएको छ । टी-१ लाई पियन (कार्यालय सहयोगी) सरह, टी-२ र टी-३ लाई श्रेणीविहीन कर्मचारी सरह,  टी-४ लाई जेटीए (खरिदार सरह), टी-५ लाई (जेटी) सुब्बा सरह मानिएको छ । टी-६ लाई शाखा अधिकृत सरह मानिएको छ भने टी-६ र टी-७ बढुवा हुने पद हो ।

परिषद्‌मा कार्यरत ती वैज्ञानिक र प्राविधिक समूहका हरेक तहका कर्मचारीहरूले पालैपालो स्वदेशदेखि विदेशमा अध्ययन गर्न तलबी अध्ययन बिदा पाउने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्