०८ असार २०८३, सोमबार

निजी क्षेत्रको मनोबल बढ्नेगरी सरकारले नीतिहरू अवलम्बन गर्नेछ : प्रधानमन्त्री ओली

साउन २, २०८१
काठमाडौं
निजी क्षेत्रको मनोबल बढ्नेगरी सरकारले नीतिहरू अवलम्बन गर्नेछ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढ्ने र लगानी प्रोत्साहन हुनेगरी सरकारले नीतिहरू अवलम्बन गर्ने बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीहरूसँगको मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको प्रवर्द्धन एवं विस्तारविना देशको विकास सम्भव नभएको बताए ।  उनले उद्यमी व्यवसायीलाई सहज हुने नीति सरकारले लिने स्पष्ट पारे ।

महासङ्घका पदाधिकारी एवं कार्यकारिणी समितिका सदस्यहरू सम्मिलित भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको सुधारका लागि सरकारले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको महासङ्घले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

निजी क्षेत्रविना अर्थतन्त्र सुधार हुन नसक्ने बताउँदै प्रधानमन्त्री ओलीले सरकारले उद्यमी तथा व्यवसायीलाई हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाए । 

भेटमा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलको पनि उपस्थिति रहेको थियो ।

भेटमा महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको बताए । 

मुलुकको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको निजी क्षेत्रको विस्तारबाट मात्रै सुधार सम्भव रहेको प्रधानमन्त्री ओलीसँगको भेटमा अध्यक्ष ढकालले बताएका थिए । 

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रुपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत् लगानी अभिवृद्धि गर्न आवश्यक रहेको ढकालको भनाइ थियो ।

अध्यक्ष ढकालको नेतृत्वमा पुगेको महासङ्घको प्रतिनिधिमण्डलले प्रधानमन्त्रीसमक्ष निजी क्षेत्रलाई राज्यको मर्यादा क्रममा समावेश गर्नेलगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिनसक्ने भन्दै अनुरोध गरेका थिए ।

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रबाट पूर्वाधारमा हुने लगानीलाई कुनै प्रकारले निरुत्साहित गर्न नहुनेमा जोड दिँदै आर्थिक वर्षको शुरूमा नयाँ सरकार बनेको हुँदा पुँजीगत खर्च बढाउन विशेष पहल आवश्यक रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्