
राष्ट्रिय सतर्कता केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा करिब ६३ प्रतिशत उजुरी फर्छ्यौट गरेको छ ।
उक्त आर्थिक वर्षमा उजुरीको लगत १ हजार ६३५ रहेकोमा १ हजार २६ उजुरी फर्छ्यौट भएको सतर्कता केन्द्रका प्रवक्ता दीपक घिमिरेले जानकारी दिए ।
'विगतको वर्षबाट जिम्मेवारी सरेको २७० र आर्थिक वर्ष २०८०/८१ मा दर्ता भएको १ हजार ३६५ उजुरीसहित १ हजार ६३५ उजुरीको लगत रहेकोमा १ हजार २६ उजुरीको फर्छ्यौट भएको छ,' प्रवक्ता घिमिरेले लोकान्तरसँग भने, 'प्रतिशतको आधारमा ६२.७५ प्रतिशत फर्छ्यौट भएको छ भने ६०९ थान अर्थात् ३७.२५ प्रतिशत उजुरी बाँकी छ ।'
११ वटा उजुरीमाथि छानबिन गरी थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ । थप २१८ थान उजुरीमा सम्बन्धित निकायलाई निर्देशन दिइएको केन्द्रका प्रवक्ता घिमिरेले बताए ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा उजुरीको फर्छ्यौट प्रतिशतमा कमी आएको छ । तर सचिवको रूपमा रामआधार साह आएपछि उनको कार्यकालमा भने विगतको वर्षको तुलनामा बढी नै फर्छ्यौट भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा उजुरीको कुल लगत ९ सय ३७ रहेकोमा ६६७ अर्थात् ७१ प्रतिशत फर्छ्यौट भएको थियो । ५९ वटा उजुरीहरू थप अनुसन्धानका लागि अख्तियारमा पठाइएको थियो भने १११ उजुरीमा निर्देशन दिइएको थियो ।
आर्थिक वर्ष २०७९/८० को तुलनामा आर्थिक वर्ष २०८०/८१ मा १८ प्रतिशतले उजुरी फर्छ्यौट कम भएको देखिन्छ । तर सतर्कतामा रामआधार साह आएको २०८० पुष १ देखि २०८१ असार ३१ सम्मको अवधिमा भने ८४ प्रतिशत उजुरी फर्छ्यौट भएको छ ।
केन्द्रद्वारा प्राप्त विवरणअनुसार साहले कार्यकाल सम्हालेदेखि असार ३१ सम्म कुल ७६६ थान उजुरीको लगत रहेकोमा ६४५ थान अर्थात् ८४ प्रतिशत उजुरीको फर्छ्यौट भएको छ ।
जसमध्ये ४ थान उजुरीको थप अनुसन्धानका लागि अख्तियारमा पठाइएको छ भने १५४ वटा उजुरीमा निर्देशन दिइएको छ ।