
राजस्व अनुसन्धान विभागले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध मुद्दा दायर गरेको छ ।
नेपाल राष्ट्र बैंकको स्वीकृतिबिना विदेशमा रहेको बैंकमा खाता खोलेर कारोबार गरेको आरोपमा उनीविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
विभागले उनीविरुद्ध ७७ लाख ४५ हजार ९ सय रुपैयाँ बिगो कायम गरी त्यसको तेब्बर २ करोड ३२ लाख ३७ हजार ७ सय रुपैयाँ जरिवानाको माग गरेको छ ।
नेपालमा बसोवास गर्ने कुनै पनि नेपाली नागरिक वा नेपालमा दर्ता भएको कम्पनी, संगठित संस्था वा फर्मले विदेशस्थित बैंकमा खाता खोल्दा नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्ने व्यवस्था छ ।
तर तनहुँको शुक्लागण्डकी नगरपालिका- ३ स्थायी ठेगाना भएका प्रतिवादी पौडेलले सिङ्गापुरको युनाइटेड ओभरसिज बैंकमा खाता खोली ५८ हजार अमेरिकी डलर जम्मा गरेको पाइएको विभागले जनाएको छ ।
यसअघि पौडेल 'नेशनल पेमेन्ट गेट वे' खरिदसम्बन्धी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका थिए ।
