
नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आसन्न मौद्रिक नीतिमा राष्ट्र बैंकलाई सुझाव दिँदै बैंकहरूले लिँदै आएको होल्डिङ चार्ज हटाउन माग गरेको छ ।
महासंघले बुधबार एक विज्ञप्ति जारी गर्दै सुनको मूल्य निर्धारण गर्न कानूनी व्यवस्था हुनुपर्ने, बैंकले लिन पाउने मूल्य र दैनिक मूल्य एकरूप हुनुपर्ने र बैंकहरुले लिने गरेको होल्डिङ चार्ज खारेज हुनुपर्नेजस्ता सुझावहरू समेटिएका छन् ।
बिक्रीका लागि राखिएको वस्तुमा होल्डिङ चार्ज थप्दै जाने कार्य न्यायोचित नभएको महासंघको ठहर छ । विज्ञप्तिमा भनिएको छ, 'यस्तो कार्य अन्य वस्तुका बिक्रेताले पनि गर्न पाउने छुट दिने हो भने सम्पूर्ण बजार व्यवस्था नै अराजक हुनेछ ।'
त्यस्तै एउटै मितिमा बैंकबाट फरक भाउमा खरिद भएको सुनबाट बनेका गहनाहरूको मूल्यमा एकरूपता कायम हुन नसक्ने पनि उक्त विज्ञप्तिमा जनाइएको छ । सुनचाँदीको दैनिक मूल्य निर्धारणमा नियामक निकायको हस्तक्षेप चाहिने माग व्यवसायीले गरेका छन् ।
सुनलाई परिमाणात्मक बन्देज अन्तर्गत राखेर आयातमा वाणिज्य बैंकलाई मात्रै इजाजत दिइने प्रावधान रहेको र चाँदीलाई खुल्ला इजाजत प्रणाली(ओजीएल) अन्तर्गत राखिए तापनि आयातमा रकमको सीमा तोकिएकाले चाँदीको आयात पनि नियन्त्रित नै हुन पुगेको महासंघको ठहर छ ।
महासंघले सुनको माग र आपूर्तिबीच अत्यन्तै असामञ्जस्यपूर्ण असन्तुलन रहेको, गैर-कानूनी पैठारीमा प्रभावकारी नियन्त्रण हुन नसकेको, बैंकबाट सुनको खरिदको लागि सिफारिस गर्न पाउने अधिकार विभिन्न संस्थाहरूलाई प्रदान गरिएको कारणले बजारमा नकारात्मक असर परेको दाबी गरेको छ ।