०९ असार २०८३, मंगलबार
बाढीपहिरो

प्राकृतिक प्रकोप अपडेटः जेठ २८ यता १२५ जनाले ज्यान गुमाए, कुन प्रदेशमा कति ?

साउन ३, २०८१
काठमाडौं
प्राकृतिक प्रकोप अपडेटः जेठ २८ यता १२५ जनाले ज्यान गुमाए, कुन प्रदेशमा कति ?

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा परी बिहीवार दिउँसोसम्म एक सय २५ जनाले ज्यान गुमाएका छन् । 

विपद्मा परी काठमाडौंमा दुई, कोशी प्रदेशमा २२, मधेशमा पाँच, बागमतीमा २०, गण्डकीमा ३८, लुम्बिनीमा २३, कर्णालीमा सात र सुदूरपश्चिममा आठ  गरी जम्मा एक सय २५ जनाको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार विपद्मै परी काठमाडौंमा आठ, कोशीमा ३४, मधेशमा नौ, बागमतीमा सात, गण्डकीमा २९, लुम्बिनीमा नौ, कर्णालीमा ३३ र सुदूरपश्चिममा १४ गरी जम्मा एक सय ४३ जना घाइते भएका छन् । 

यसैगरी कोशीमा ४१, गण्डकीमा १२ गरी जम्मा ५३ जनाको उद्धार गरिएको छ । बाढीपहिरोमा परी कोशीमा दुई, मधेशमा एक, बागमतीमा दुई, गण्डकीमा एक, कर्णालीमा एक र सुदूरपश्चिममा एक गरी आठ जना बेपत्ता भएको प्रवक्ता कार्कीले बताए ।

‘बाढीपहिरोलगायत विपद्मा परी बेपत्ता भएकाको खोजी भइरहेको छ,’ उनले भने । सिमलताल दुर्घटनामा बेपत्ता भएकाको तथ्याङ्क यहाँ समावेश नगरिएको प्रहरीले जनाएको छ । बाढीको कारण जम्मा एक सय ८२ घर डुबानमा परेका छन् । 

दुई सय २२ घर, ८० गोठ, ४३ पुल, एक विद्यालय र दुई  सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्मा पाँच सय ८५ वटा पशुचौपाय मरेका छन् । उक्त अवधिमा विपद्का घटनाबाट तीन हजार सात सय २१ परिवार विस्थापित भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्