
मधेस प्रदेश लोकसेवा आयोग लामो समयदेखि पदाधिकारीविहीन भएको छ ।
आयोगमा पदाधिकारी नहुँदा उद्देश्य तथा लक्ष्य अनुरुप काम गर्न नसकेको र कर्मचारी भर्ना एवं नियुक्तिलगायत काम ठप्प भएको छ । मधेस प्रदेश लोकसेवा आयोगका अध्यक्ष तथा सदस्य पद रिक्त रहेकाले सबै कार्य ठप्प भएको कर्मचारीहरुको भनाइ छ ।
आयोगमा तीन सदस्यीय पदाधिकारी प्रदेश सरकारले नियुक्त गर्ने व्यवस्था छ । त्यसमध्ये एक जना सदस्य डा सुजाता देव मात्र कार्यरत छन् । आयोगका तत्कालीन अध्यक्ष सुरेन्द्रप्रसाद यादव तथा सदस्य महारुद्र झा उमेर हदका कारण छ महिना अगाडि पदमुक्त भएपछि आयोग पदाधिकारीविहीन भएको हो ।
आयोगमा पदाधिकारी मात्र होइन विसं २०८० मङ्सिर २१ गतेबाट सचिव पद पनि रिक्त छ । तत्कालीन सचिव नरेशराज खरेलको अन्यत्र सरुवा भएपछि नयाँ सचिव नआएको आयोग कार्यालयले जनाएको छ । पदाधिकारी र सचिव नहुँदा साउन १ गते आयोगले सार्वजनिक गर्ने कर्मचारी भर्नासम्बन्धी वार्षिक क्यालेण्डर प्रकाशन गर्न सकेको छैन ।
अध्यक्ष, सदस्य तथा सचिव नहुँदा नियमित प्रशासनिक कामबाहेक अन्य काम ठप्प भएको आयोगका प्रवक्ता तथा उपसचिव गणेश गुञ्जन झाले जानकारी दिए । प्रवक्ता झाका अनुसार अन्तर्वार्ता लिइएको उम्मेदवारको नतिजा सार्वजनिक, सिफारिस, विज्ञापन गरिएका लिखित परीक्षा, सम्बन्धित निकायसँग रिक्त रहेको दरबन्दी माग तथा विज्ञापन निकाल्नेलगायत काम अघि बढ्न नसकेको हो ।