१० असार २०८३, बुधबार

महोत्तरीमा ट्र्याक्टर दुर्घटनाः २७ जना घाइते, चालक फरार

साउन ४, २०८१
काठमाडौं
महोत्तरीमा ट्र्याक्टर दुर्घटनाः २७ जना घाइते, चालक फरार

जलेश्वर– महोत्तरीको पिपरामा ट्र्याक्टर दुर्घटना हुँदा त्यसमा सवार २७ जना घाइते भएका छन् । मुस्लिम समुदायको मोहरम्म पर्वका अवसरमा महोत्तरीको पिपरा गाउँपालिकामा लागेको दाहा (ताजिया) मेला हेर्न जाने यात्रु बोकेको ट्र्याक्टर दुर्घटनामा परेको हो । 
    
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलाल जैसवारका अनुसार बिहीवार दिउँसो करिब ४ बजे जलेश्वर नगरपालिका–६ धबौली गाउँबाट ज१त८०४४ नम्बरको ट्र्याक्टरमा २७ जना सवार भई पिपरा गाउँपालिका–५ मा लागेको दाहा मेला हेर्न गइरहेका बेला जलेश्वर नपा–९ स्थित परिकौली चौकनजिकै ट्र्याक्टर दुर्घटना भएको थियो ।

चालकले तीव्र गतिमा ट्र्याक्टर कुदाउँदा अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये २६ जनाको उपचार प्रादेशिक अस्पताल जलेश्वरमा भइरहेको छ भने गम्भीर घाइतेलाई उपचारका लागि जनकपुर पठाइएको छ ।
    
प्रहरीका अनुसार घाइतेमध्ये धेरैको हातखुट्टामा चोट लागेको छ भने केहीको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । घटनापश्चात् चालक फरार रहेका छन् भने उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । –रासस 

salt training

कमेन्ट गर्नुहोस्