
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
गत निर्वाचनमा तेस्रो दल भएर पनि कांग्रेस र एमालेकै समर्थनमा प्रधानमन्त्री भएका पुष्पकमल दाहाल प्रचण्ड १९ महिना बालुवाटार बसेपछि निजी निवास ललितपुरको खुमलटारमा सरेका छन् । प्रचण्डलाई आलोपालो १९ महिनासम्म बोकेपछि कांग्रेस र एमाले आफैं मिल्न पुगे ।
असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरणको सहमति भयो । यसपछि असार २८ गते प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाउन सकेनन् । सोही प्रस्ताव असफल भएलगत्तैदेखि प्रचण्ड बालुवाटार छाडेर खुमलटार पुगेका हुन् ।
प्रचण्ड अहिले खुमलटारबाटै नेता कार्यकर्ता भेटवार्तासँग भेटघाट र छलफल गर्दै आएका छन् । बिहीबार प्रचण्डले सरकार छाडे पनि माओवादी विजयी मोडमा भएको दाबी गरेका थिए । आफूहरूले राम्रो काम गर्दैगर्दा सरकार छोड्नुपरेको चर्चा सामाजिक सञ्जालमा भइरहेको भन्दै सन्तुष्ट भएर संगठन निर्माणमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिएका थिए ।
‘सुशासनमा सरकार अगाडि बढेपछि हामीविरुद्ध कांग्रेस र एमालेबीच समीकरण बन्यो । सामाजिक सञ्जालमा हामीलाई भन्दा उनीहरूलाई नै गाली गर्नेको संख्या धेरै छ,’ प्रचण्डले नेता कार्यकर्तासँग निवासमा भने, ‘यो सरकारप्रति जनताले विश्वास गरेका छैनन् । कुनै भरोसा पनि छैन । त्यसैले अब हामी बलियो भएर पार्टी संगठन निर्माणमा लाग्नुपर्छ ।’
वर्षौंसम्म सत्तामा केन्द्रित हुँदा अवरुद्ध भएका पार्टी संगठन निर्माण र अभियानका विषयलाई अगाडि बढाउने संकेत प्रचण्डले गरेका छन् । राम्रा काम जनतामाझ लिएर जान, पार्टी संगठनको विषय तलसम्मै लिएर जान र जनतासँग टुटेको सम्बन्ध गाँस्न अब माओवादी केन्द्रित हुने पनि उनले बताए । दुई ठूला दल मिलेर देशलाई निरकुंशतातिर लाने प्रयत्न भएको भन्दै माओवादीले यसैलाई मुद्दा बनाएर खबरदारी गर्ने पनि बताएको छ ।
दुई ठूला पार्टीबीच स्वार्थपूर्ण सम्बन्ध अहिले देखिए पनि केही समयमै यो गठबन्धन बिग्रँदै जाने पनि प्रचण्डले नेता था कार्यकर्तासँग बताउने गरेका छन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वाग्मती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ ।
बिहीबार काठमाडौँमा भएको सो पार्टीको संसदीय दलको बैठकले मुख्यमन्त्री जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको राप्रपा संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।
००००
अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय २५ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा २ जना, कोशी प्रदेशमा २२ जना, मधेश प्रदेशमा ५ जना, बागमती प्रदेशमा २० जना, गण्डकी प्रदेशमा ३८ जना, लुम्बिनी प्रदेशमा २३ जना, कर्णाली प्रदेशमा ७ जना र सुदूरपश्चिम प्रदेशमा ८ जना गरी जम्मा १ सय २५ जनाको मृत्यु भएको हो ।
००००
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अवैध ‘च्यानल’ को प्रयोग भई खातामा रकम जम्मा भएको पाइएकाले त्यसरी रकम आएको भए जानकारी दिन सर्वसाधारणमा आग्रह गरेको छ ।
अनुसन्धानका क्रममा विदेशी मुलुक जस्तै संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, अष्ट्रेलिया, अमेरिका, जापान, दक्षिण कोरिया, बेलायतलगायतका विभिन्न देशमा रहेका नेपाली नागरिकले विदेशमा आर्जनगरी पठाएको विप्रेषणबापतको रकम अवैध प्रक्रियाबाट आइरहेको र उक्त सकम एजेन्टले विदेशमा रहेका नेपालीको नेपालस्थित आफन्तको बैंक खातामा जम्मा गर्ने गरेको पाइएको भन्दै त्यस्तो भएको पाइए खबर गर्न अनुरोध गरिएको सिआइबीले जनाएको छ ।
००००
मधेस प्रदेशमा दुई दलका पाँच मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । अर्थसहित ४ मन्त्रालयको नेतृत्व गर्नेगरी कांग्रेस र शिक्षा तथा संस्कृति मन्त्रालयको नेतृत्व गर्ने गरी लोसपा सरकारमा सहभागी भएसँगै मन्त्रीहरूले बिहीबार शपथ लिएका हुन् ।
००००
वरिष्ठ पर्यटन व्यवसायी अम्बिका श्रेष्ठको बिहीबार ९२ वर्षको उमेरमा निधन भयो । उनको निधनपछि प्रतिक्रिया दिँदै पर्यटन व्यवसायीहरुले मुलुकको पर्यटन क्षेत्रले सच्चा अभिभावक गुमाएको बताएका छन् ।
००००
नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म रु ७५ अर्ब ९० करोड ८८ लाख नगद मौज्दात रहेको जनाइएकव् छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी किरण केसीले २०८० असार मसान्तमा कोषको नगद मौज्दात रु ७१ अर्ब पाँच करोड ६१ लाख रहेकामा यस वर्ष रु चार अर्ब ८५ करोड २७ वृद्धि भएको जानकारी दिए ।
००००
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
श्रावण २३ गते बुधबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो ।
००००
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकार र आर्थिक सल्लाहकार नियुक्त गरेको छ ।
बिहीबार सिंहदबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
००००
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार झण्डै ६० अङ्कले उकालो लागेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ५९ दशमलव ६८ प्रतिशतले उकालो लागेर दुई हजार चार सय २४ दशमलव ३२ मा पुगेको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १६ दशमलव ३७ अङ्कले उकालो लागेर चार सय ३६ दशमलव १४ मा पुगेको छ ।
००००
सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् । बिहीबार भएको छलफलमा संसद् बैठक र यसका समितिका बैठकबारे १५ गतेसम्मको क्यालेन्डर बनाएको हो ।
सभामुखले दलका प्रमुख सचेतकहरूसँग गरेको छलफलमा साउन १५ गतेसम्मको क्यालेन्डर तय भएको एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
००००
उपसभामुख इन्दिरा राना विवादमा तानिएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीको कोटामा उपसभामुख बनेकी उनी अमेरिकी दूतावासलाई लेखिएको पुरानो पत्रका कारण विवादमा तानिएकी हुन् ।
पार्टी र संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाको लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै उनले गत वर्षको फेब्रुअरीलाई अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन् । अहिले आएर सो पत्र सार्वजनिक भएसँगै कतिपयले मानव तस्करीसँग जोडेर आलोचना गरेका छन् ।