
ललितपुरको मानभवनमा सञ्चालित सुयोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बचतकर्ताको २५ करोड अपचलन गरेको पाइएको छ ।
उजुरी परेपछि प्रहरीले उक्त सहकारीका सञ्चालक समिति अध्यक्ष सुनिल महर्जनसहित तीन जनालाई पक्राउ गरेको छ । ११ जना प्रतिवादी रहेको यो मुद्दामा ८ जना अझै फरार छन् ।
उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए ।
अध्यक्ष महर्जनसहित प्रहरीले उनको मामाको छोरी नाता पर्ने मंगलबजार बस्ने मलिका महर्जनलाई पक्राउ गरेको छ ।
मलिकालाई सहकारी अपचलनबारे कुनै जानकारी छैन । सुनिलले केही हुँदैन भनेर मलिकाको नाम सञ्चालक समितिमा जबरजस्ती राखेको बयान प्रहरीमा दिएकी छिन् ।
उनी यसअघि पनि बैंकिङ कसुर मुद्दामा फरार थिए ।
यस्तै, सहकारीकी सचिव अर्पणा पवालाई प्रहरीले पक्राउ गरेको छ ।
भक्तपुर सूर्यविनायक घर भएकी पवाले पनि आफूलाई सहकारी अपचलनबारे जानकारी नभएको बताएकी छिन् ।
हाल उक्त सहकारीका कोषाध्यक्ष गीता सिख्वाल, व्यवस्थापक रेश्मी शिल्पकार, अर्का व्यवस्थापक ललितपुरकै विष्णु सञ्जेल, लेखा समिति सदस्य भूपेन्द्र महर्जन, सञ्चालक समिति सदस्यहरू सविन महर्जन, अछाम जलानीकोटका नरबहादुर साउद, ललितपुर महालक्ष्मीका रञ्जित श्रेष्ठ, महालक्ष्मीकै राजमोहन अवालेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
प्रहरीले उनीहरूको खोजी गरिरहेको जनाएको छ ।
२०५५/०५६ मा सहकारी दर्ता भएपनि सुनिलले उक्त सहकारी आफ्नो नाममा खरिद गरेर २०६५/०६६ देखि सञ्चालनमा ल्याएका थिए । कुल निक्षेप ४५ करोड रहेको यस सहकारीले अझै २५ करोड तिर्न बाँकी छ ।
सुनिलले प्रहरी बयानमा १५ करोड रुपैयाँ तिरिसकेको खुलाएका छन् । परिसर प्रमुख खनालका अनुसार सहकारीले आफ्नो नाममा रहेको जग्गा समेत बचतकर्ताको नाममा नामासारी गरेर १५ करोड चुक्ता गरेको देखिन्छ ।
हाल प्रहरीमा एक सय ३६ जनाले सहकारी सञ्चालकविरुद्ध जाहेरी दिएका छन् ।
जाहेरीअनुसार कुल ८ करोड ९८ लाख २८ हजार ७ सय ८३ रुपैयाँ ५४ पैसा बराबरको बिगो रहेको प्रहरीले जनाएको छ ।