
उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विभिन्न सरकारी निकायबाट निर्माण व्यवसायीलाई भुक्तानी हुनुपर्ने रकम यकिन भइरहेको र चाँडै भुक्तानी प्रक्रिया अघि बढ्ने बताएका छन् ।
नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीसँग आज अर्थमन्त्रालयमा भएको भेटघाटमा उनले यस्तो बताएका हुन् ।
दायित्व सिर्जना भइसकेको रकम भुक्तानी नरोकिने उनले स्पष्ट पारेका छन् ।
महासङ्घका पदाधिकारीसँगको छलफल अघि अर्थमन्त्री पौडेलले विभिन्न विषयगत मन्त्रालयका सचिवसँग छलफल गरेका थिए ।
'काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी नरोक्न विभिन्न मन्त्रालयलाई भनिसकेको छ,' अर्थमन्त्री पौडेलले भने, 'समस्या आइसकेपछि यत्तिकै राख्ने होइन, समाधान गर्दै जाने हो । दुवै पक्ष छलफल गरेर निकास खोज्नतर्फ लागौं ।'
सम्पन्न भएको कामको भुक्तानी नरोक्न विषयगत मन्त्रालयका सचिवलाई निर्देशन दिइसकेको अर्थमन्त्री पौडेलले बताए ।
पूर्वाधार निर्माणको गुणस्तर कायम गर्दै तोकिएको समय र लागतभित्र काम सम्पन्न गर्न पनि अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीलाई आग्रह गरे ।