
राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे चीनको औपचारिक भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेकी छिन् ।
चीनको युनान प्रान्तको कुन्मिङ शहरमा हुने ८ औं चीन–दक्षिण एशिया प्रदर्शनीमा सहभागी हुन ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी शनिबार चीन प्रस्थान गरेकी हुन् ।
उपाध्यक्ष घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल इन्टर्न चाइना एयरलाइन्सको उडानबाट चीन प्रस्थान गरेको छ ।
प्रतिनिधिमण्डलमा उपाध्यक्ष घिमिरे, राष्ट्रियसभाका सदस्यहरू मायाप्रसाद शर्मा, तुलसाकुमारी दाहाल र दुर्गाकुमारी गुरुङ, संघीय संसद् सचिवालयका उपसचिव विकास बोहरा र उपाध्यक्षका स्वकीय सचिव प्रेमबहादुर सिंह छन् ।
उपाध्यक्ष नेतृत्वको संसदीय प्रतिनिधिमण्डल जुलाई २३ मा हुने प्रदर्शनीको उद्घाटन समारोहमा सहभागी हुनेछ ।
प्रदर्शनीको उद्घाटन कार्यक्रममा उपाध्यक्ष घिमिरेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसका साथै प्रतिनिधिमण्डलले युनान प्रान्तका उच्च अधिकारीहरूसँग भेट गर्नेछ।
घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल २५ जुलाई, २०२४ मा नेपाल फर्कने छ।