०७ असार २०८३, आइतबार

बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेस

साउन ६, २०८१
काठमाडौं
बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै, नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्दै कांग्रेस

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आइतबार प्रदेशसभाबाट विश्वासको मत लिन लागेपनि उनको सरकार ढल्ने निश्चित रहेको छ । 

प्रदेशसभामा कांग्रेस एमालेसहितको गठबन्धनको बहुमत रहेकाले माओवादीबाट मुख्यमन्त्री बनेका उनले प्रदेशसभाबाट विश्वासको मत नपाउने निश्चित रहेको हो । अल्पमतको सरकार चलाइरहेका उनले विश्वासको मत लिने प्रयोजनका लागि आइतबार प्रदेशसभा बैठक बोलाइएको हो। 

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्द लम्सालले बागमती प्रदेश सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत प्राप्त गर्ने प्रस्ताव राखेपछि विश्वासको मतमाथिको छलफलमा दलका नेताहरूले बोल्ने कार्यक्रम तय भएको जानकारी दिए । 

प्रमुख विपक्षी दलका नेताका लागि समय सीमामा निर्धारण गरिएको छैन भने अन्य दलका नेतालाई १०–१० मिनेट बोल्न दिने गरी तय गरिएको छ । 

विश्वासको मतका मतदानमा जाँदा जम्कट्टेल नेतृत्वको सरकार बाहिरिने निश्चित रहेको छ । मुख्यमन्त्रीको पक्षमा हाल नेकपा माओवादी केन्द्रका २१, सात जना प्रदेश सभा सदस्य रहेको नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी रहेका छन् । 
तर, ११० जना प्रदेश सभा सदस्य रहेको बागमती प्रदेश सभामा काँग्रेसको ३७ र एमालेको २७ गरी ६४ जना प्रदेश सभा सदस्य रहेका छन् । सरकार निर्माणका लागि ५६ जना प्रदेश सभा सदस्य आवश्यक हुने प्रदेशमा कांग्रेस र एमाले मिल्दा सहजै बहुमत पुग्ने छ ।

यसैबीच मुख्यमन्त्रीले विश्वासको मत नपाउने निश्चित भएसँगै  संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन् ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरिसकेका कांग्रेस र नेकपा एमालेले कांग्रेस संसदीय दलका नेता लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्ने तयारी गरेका हुन् । 

‘दुई दलबीच पहिला नै मुख्यमन्त्रीमा कांग्रेसले दाबी पेश गर्ने सहमति भइसकेको छ,’ लामाले भने, ‘कांग्रेस संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीका लागि मेरो दाबी पेश हुन्छ, हाम्रो पार्टीभित्र मुख्यमन्त्रीका लागि कुनै विवाद छैन ।’
 
नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया शुरू हुनासाथ बहुमत प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा कांग्रेसका नेता लामाले दाबी पेश गर्ने सहमति भएको एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले बताए ।

कमेन्ट गर्नुहोस्