०३ साउन २०८३, आइतबार
निष्कलंक भएको दाबी

अमेरिकी भिसा प्रकरणबारे रास्वपाले भन्यो– उपसभामुखले आर्थिक लेनदेन गरेको पाइएन

साउन ६, २०८१
काठमाडौं
अमेरिकी भिसा प्रकरणबारे रास्वपाले भन्यो– उपसभामुखले आर्थिक लेनदेन गरेको पाइएन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि आर्थिक लेनदेन नगरेको निष्कर्ष निकालेको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाले आइतवार विज्ञप्ति जारी गर्दै अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार नभेटिएको स्पष्ट पारेका छन् ।

‘पार्टीले गरेको अनुसन्धानका क्रममा उपलब्ध तथ्य र प्रमाणले सञ्चारमाध्यमहरूमा अतिरञ्जित रुपमा प्रस्तुत गरिएका सूचना सामग्रीहरूजस्तो कतै पनि भिसाको माग गरिएको वा आर्थिक लेनदेन भएको कुनै तथ्यगत आधार देखिँदैन,’ विज्ञप्तिमा भनिएको छ ।

यसै प्रकरणमा सम्बन्धित भनिएका व्यक्तिहरूसँग रास्वपा उपसभापति डीपी अर्यालले गरेको अडियो रेकर्डिङ आफूहरूसँग सुरक्षित रहेको पनि झाले बताएका छन् ।

'विभिन्न कूटनीतिक निकाय एवं जानकारहरूसँग बुझ्दा धेरै राजनीतिक दलका नेताले अन्तर्वार्ता मिति मात्र होइन भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘उपसभामुखलगायत अन्य नेताहरूबाट कूटनीतिक मर्यादासँग सम्बन्धित विषयमा असावधानीपूर्वक गतिविधिहरू भए-नभएकोबारे अख्तियार प्राप्त निकायबाट हुने निष्पक्ष छानबिनका पक्षमा रास्वपा सधैं रहिआएको सम्बन्धित सबैमा स्पष्ट पार्न चाहन्छौँ ।’

null

आफ्ना सारा आम्दानी र सम्पत्ति निस्वार्थ समाजसेवामा लगाएकी उपसभामुख रानामगर निष्कलंक रहेको पनि रास्वपाले दाबी गरेको छ ।

रास्वपाबाट उपसभामुख बनेकी रानामगरले पाँच व्यक्तिलाई अमेरिका लैजान भनी नेपालस्थित अमेरिकी दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि विवादमा तानिएकी छिन् ।

पार्टी र संसद् सचिवालयसँग असम्बन्धित मानिसलाई भिसाका लागि अन्तर्वार्ताको मिति मिलाइदिन भन्दै उनले गत वर्षको फेब्रुअरीलाई अमेरिकी दूतावासलाई पत्राचार गरेकी थिइन् । अहिले आएर सो पत्र सार्वजनिक भएसँगै कतिपयले मानव तस्करीसँग जोडेर उनकाे आलोचना गरेका छन् । 

यो प्रकरण सार्वजनिक भएपछि उपसभामुख रानामगरमाथि अनुसन्धान गर्दा उनी निर्दोष रहेको पाइएको रास्वपाले दाबी गरेकाे हाे । 
 

salt training

कमेन्ट गर्नुहोस्