
काठमाडौं, ९ कात्तिक — संसारका केही क्षेत्रमा तीन हजार वर्षमा एकचोटि फुल्ने एउटा फूलको अस्तित्व रहेको मान्यता छ ।

त्यस फूलको संस्कृत नाम उदुम्बरा हो जसको अर्थ हुन्छ स्वर्गको फूल ।
त्यसो त विगत कैयौं वर्षमा संसारभरि यो फूल देखिएको दाबीहरू गरिएका छन् । सबभन्दा ताजा मामिलामा चीनका डा डिङले सन् २००७ मा यो फूल पत्ता लगाएको बताएका छन् । उनको बगैंचामा ३८ फूलको गुच्छा देखिएको बताइएको छ ।
मान्यताअनुसार, यो फूल धर्तीमा पहिलोचोटि गौतम बुद्धको जन्मको समयमा देखिएको थियो । त्यसपछि सन् १९९७ मा दक्षिण कोरियाको एक मन्दिरमा बुद्धको मूर्तिमा यो फुलेको बताइएको थियो । बौद्धग्रन्थहरूमा यो फूललाई विशेष महत्त्व दिइएको छ ।
फूलको विशेषता भनेको यसको सुगन्ध हो । तर नांगो आँखाले यसलाई देखिँदैन । यसलाई हेर्न म्याग्निफाइङ ग्लास वा माइक्रोस्कोप नै चाहिन्छ ।

यो फूल नभएर लेसविङ कीराको अण्डा भएको पनि मान्यता छ । रुखमा यो कीराले अण्डा दिन्छ र यसबाट फूलजस्तो देखिने सुगन्धित कुरा बाहिर निस्कन्छ ।
तर बौद्धहरू भने यो फूल पवित्र ठाउँमा उत्पन्न हुने मान्यता राख्छन् ।
एजेन्सी