०९ साउन २०८३, शनिबार
सरसर्ती २४ घण्टा

एक साताभित्र क्रिकेट रंगशाला निर्माणको काम सुरु हुने, फेरि उपसभामुखको बचाउमा रास्वपा

साउन ११, २०८१
काठमाडौं
एक साताभित्र क्रिकेट रंगशाला निर्माणको काम सुरु हुने, फेरि उपसभामुखको बचाउमा रास्वपा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले कामु मुख्यसचिव गड्तौलालाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

गड्तौला निजामती प्रशासनको नेतृत्व गर्ने पहिलो महिला भएकी छिन् । यसअघिका मुख्यसचिव डा बैकुण्ठ अर्यालमाथि भ्रष्टाचार मुद्दा लागेपछि उनी निमित्त मुख्यसचिव थिइन् । गड्तौलाको कार्यकाल भने छोटो हुनेछ ।
००००
सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारीलाई  नियुक्त गरेको छ । विहीवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
००००
सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएकाहरूको शव पहिचान भएपछि मात्र परिवारलाई हस्तान्तरण गरिने भएको छ । कतिपय शव जलेर पहिचान गर्न कठिन भएकाले डीएनए परीक्षणसमेत गर्नुपर्ने सम्भावना रहेको हुँदा प्रक्रिया पूरा भएपछिमात्र क्रमशः हस्तान्तरण हुने जनाइएको छ ।  
शव परीक्षण त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भइरहेको छ ।
००००
सार्वजनिक लेखा समितिले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवादका सम्बन्धमा छानबिन गर्न गठित सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन मागेको छ । 
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयललाई बिहीबार पत्र लेख्दै उक्त प्रतिवेदन अध्ययनका लागि पठाइदिन अनुरोध गरिएको समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिए ।
००००
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)को प्रतिवेदन एकसाताभित्र समिति समक्ष पेस गर्न संस्कृति, पर्यटन तथा नारिक उड्डयनमन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिको  सिंहदरबारमा भएको बैठकले एकसाताभित्र प्रतिवेदन समितिमा पेस गर्न पर्यटनमन्त्रीलाई निर्देशन दिने निर्णय गरेको हो । समितिका सभापति राजकिशोर यादवले समितिले चिठी लेखेर आइकाओको प्रतिवेदन मगाउँदा पनि प्राप्त नभएको भन्दै अब चिठी लेख्न नपर्नेगरी समयभित्रै प्रतिवेदन बुझाउन आग्रह गरे ।
००००
चितवनको नारायणगढ–मुग्लिङ सडकखण्डस्थित सिमलतालमा पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता दुई वटा बस तथा यात्रुको खोजी कार्यमा खासै प्रगति देखिएको छैन ।
 
घटना भएको १५ दिन बितिसक्दा पनि नेपाल भारतका संयुक्त सुरक्षा फौजबाट खोजतलास जारी छ तर अहिलेसम्म बेपत्ता गाडी र बाँकी यात्रुबारे कुनै पनि नयाँ सङ्केत नमिलेको सशस्त्र प्रहरी बल नेपालका केन्द्रीय सहप्रवक्ता, प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
००००
नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई यही छिट्टै पूर्णता दिने निर्णय गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बिहीबार बसेको बैठकले कार्यविधि तथा मापदण्डका आधारमा केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले जानकारी दिए ।
००००
भरतपुर महानगरपालिका–१५ रामपुरमा निर्माण रोकिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम एक साताभित्र सुरु हुने भएको छ । भरतपुर महानगरपालिका र हिमालयन कालिञ्चोक विविआर जेभिले बिहबिार संयुक्त रुपमा स्थलगत अनुगमनपछि निर्माण कम्पनीले एक साताभित्र निर्माणको काम सुरु गर्ने जनाएको हो ।
००००
प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान कार्यकालको मन्त्रिपरिषद्को बैठकको पहिलो निर्णयनुसार कीर्तिपुर खेल मैदानलाई सुविधा सम्पन्न रङ्गशाला बनाउने विषयमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरेका छन् ।
००००
काठमाडौँको कीर्तिपुर नगरपालिकाका मेयर  राजकुमार नकर्मीको निधन भएको छ । मिर्गौलासम्बन्धी रोगबाट पीडित उनको गएराति निधन भएको नगरपालिकाका सूचना अधिकारी प्रकेश चन्द्र श्रेष्ठले जानकारी दिए ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  विधान संशोधन गर्ने भएको छ ।  विधानमा आवश्यक परिमार्जन तथा संशोधनका लागि केन्द्रीय समिति बैठकले सहायक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ‘विधान संशोधन सुझाव कार्यदल गठन’ गर्ने निर्णय गरेको हो ।

कार्यदलमा सोबिता गौतम, गणेश कार्की, डा तोसिमा कार्की, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी, पुकार बम, डा नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन् ।
००००
राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानामगरले सिफारिस गरेको भनिएको पत्र नेपालस्थित अमेरिकी राजदूतावासमा दर्ता नभएको दाबी गरेको छ । बिहीबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि कार्यवाहक प्रवक्ता मनीष झाले उपसभामुखको पत्र अमेरिकी दूतावासमा दर्ता नभएको र सिफारिस गरिए अनुसारको सुविधा पनि नपाएको दाबी गरेका हुन् । रास्वपाले निरन्तर उपसभामुखको बचाउ गर्दै आएको छ । 
००००
टी–२० एसिया कप खेलेर नेपाली महिला राष्ट्रिय क्रिकेट टोली स्वदेश फर्किएको छ । टोली श्रीलंकाबाट बिहीवार काठमाडौं आइपुगेको हो ।
टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्