२३ असार २०८३, मंगलबार

सौर्य एयरलाइन्सले भन्यो : पीडित परिवारलाई सक्ने सहयोग गर्छौं​​​

साउन ११, २०८१
काठमाडौं
सौर्य एयरलाइन्सले भन्यो : पीडित परिवारलाई सक्ने सहयोग गर्छौं​​​

सौर्य एयरलाइन्सले आफ्नो जहाज दुर्घटनाको तीन दिनपछि औपचारिक विज्ञप्ति जारी गर्दै दुःखद घटना भएको भन्दै पीडित परिवारलाई कम्पनीको तर्फबाट हुन सक्नेसम्मको सहयोग गर्ने जनाएको छ ।

एयरलाइन्सको तर्फबाट अध्यक्ष दीपककुमार पोखरेलले दुर्घटनामा परी प्रतिष्ठित धेरै विज्ञको क्षति हुनु कल्पना गर्न नसकिने विषय भएको भन्दै सक्दो सहयोग गर्ने घोषणा गरेका हुन् ।

‘सौर्य एयरलाइन्स प्रालिको स्थापनाकाल देखि एउटै परिवारको रुपमा रही काम गर्दै आउनुभएका हाम्रा अनन्य मित्र एवं सहयोगीहरुको मिति २०८१/०४/०९ गते अकल्पनीय जहाज दुर्घटनामा परि दिवंगत हुनु भएकोमा हामी अत्यन्त मर्माहत र भावविह्वल भएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘यस दुर्घटनामा परि ज्यान गुमाउनु हुने प्रतिष्ठित यति धेरै विज्ञहरूको क्षतिको कल्पना नै गर्न सकिन्न। यस कम्पनीले मात्रै होइन, परिवार, समाज र राष्ट्रले समेत होनहार विज्ञ व्यक्तित्व गुमाउनु परेको यस दुःखद घडीमा शोकमा रहनुभएका सम्पूर्ण परिवार र आफन्तजनहरूमा धैर्य-धारण गर्ने शक्ति प्राप्त होस् भनी भगवानसँग प्रार्थना गर्दछौ ।’

कम्पनीले पीडितलाई सक्दो सहयोग गर्ने भन्दै विश्वस्त हुन पनि आग्रह गरेको छ । 

‘पीडित परिवारजनलाई कम्पनीको तर्फबाट हुन सक्ने सम्मको सहयोग, साथ र सद्‌भाव सधैं रहने विश्वास दिलाउँछौ ।​ सौर्य एयरलाइन्सको व्यावसायिक विकास र विश्वसनियता आर्जनका लागि उहाँहरूले निष्ठा पूर्वक पुर्याउनु भएको साथ, सहयोग र योगदानको उच्च कदर गर्दै यस संस्थाले सधैं जीवन्त एवं चिर स्मरणीय इतिहासको रुपमा संरक्षण गर्ने विश्वास व्यक्त गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै, यस दुर्घटनामा परि बाँच्न सफल हाम्रा अनन्य मित्र क्याप्टेन मनिष शाक्यको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्दछौं ।’

साउन ९ गते कम्पनीका प्राविधिक लिएर पोखरा उड्ने क्रममा सौर्यको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनामा परेको थियो ।

दुर्घटनामा पाइलट मनीषरत्न शाक्यबाहेका १८ जनाको ज्यान गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्