
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कीर्तिपुर नगरपालिकाका मेयर एवं कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका उपसभापति राजकुमार नकर्मीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।
पूर्व क्षेत्रीय सभापतिसमेत रहेका नकर्मीको पार्थिव शरीरमा बिहीबार पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली व्यक्त गर्दै उनले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अनुभवी नेतृत्वलाई गुमाएको छ,’ देउवाले भनेका छन् ।
देउवाले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा उनले पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
उनको आत्माको चीर शान्तिको कामनाका साथै देउवाले शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन् ।
त्यसैगरी नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य एवं उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह, पार्टीका केन्द्रीय सदस्यहरू, जिल्ला सभापति, जिल्लाका अन्य नेता एवं कार्यकर्ताहरू तथा स्वर्गीय नकर्मीका आफन्तजनहरू अन्तिम श्रद्धाञ्जलीका लागि उपस्थित भएका थिए ।
उनको शुक्रबार नै कीर्तिपुरस्थित दिखु खोलामा दाहसंस्कार गरिएको छ ।