
भारतको महाराष्ट्रका एक गुण्डा जेलबाट रिहा भएपछि खुसीयालीमा ढोल, मोटरसाइकल र सवारी साधनसहित र्याली निकालिएको निकालियो । भिडियोहरू बनाइयो। ती भिडियो भाइरल भए । प्रहरीले यो अपार खुसी देखेपछि गुण्डालाई फेरि जेलमा हालिदिएको छ ।
मिडिया रिपोर्टका अनुसार गुण्डाको नाम हर्षद पाटनकर हो। उनलाई नासिक जेलमा राखिएको थियो । उनीविरुद्ध ज्यान मार्ने उद्योग, चोरी, हिंसालगायत कैयौँ प्रहरी मुद्दा दर्ता छन् ।
गत मंगलबार उनी जेलमुक्त भएका थिए । उनको रिहाइको खुशीयालीमा उनका समर्थकले शहरभर जुलुस निकालेका थिए । बेथेल नगरदेखि अम्बेडकर चोकसम्म निकालिएको उक्त र्यालीमा धेरै मोटरसाइकल र केही चारपाङ्ग्रे सवारी साधन थिए ।
यस र्यालीको भिडियो ‘कमब्याक’ र ‘बोस इज ब्याक’ जस्ता क्याप्सनसहित सामाजिक सञ्जालमा राखिएको थियो । भाइरल भिडियोमा ‘बोस’ पाटनकर कारको सनरुफबाट बाहिर निस्केर हात हल्लाउँदै गरेको देखिन्छ ।
उनी पक्राउ गरेको थाहा पाएपछि उनका सहयोगी भागेका थिए । अनधिकृत र्याली निकालेर अराजकता सृजना गरेको अभियोगमा प्रहरीले पाटनकर र उनका ६ सहयोगीलाई पुनः पक्राउ गरेको छ ।