०९ साउन २०८३, शनिबार

समयको चमत्कार

साउन १२, २०८१
काठमाडौं
समयको चमत्कार

बूढापाकाले भन्ने गरेका छन्– ‘समय नपुगी आउन्न, समयले नदिई पाइन्न ।’ शायद उनीहरूले ठीकै भनेका रहेछन् । करीब एक दशकअघि हुनुपर्छ नेपाली वर्णविन्यासको बेथितिबारे ठूलै आन्दोलन चलेको थियो ।

शरच्चन्द्र वस्ती, गाउँले बलदेव अधिकारी, स्वागत नेपाललगायतका सज्जनहरूले यसको नेतृत्व गरेका थिए । वस्तीजीले त एकैदिन दुईवटा प्रतिष्ठित दैनिकमा लामै लेख छपाएका थिए । एकदिन उनी यसकै कार्यालयमा पनि बहस गर्न आएका थिए । लगत्तै यसै विषयलाई लिएर महाप्रबन्धकको कार्यकक्षमा बैठक बस्यो । प्रायः सबैले प्रज्ञाको शब्दकोश नै पछ्याउनुपर्छ भन्ने राय दिएपछि यसले विमति जनाउँदै भनेको थियो– ‘प्रज्ञाको शब्दकोशमा भद्रगोल र भाँडभैलो देखिएकाले त्यसो नगरौँ ।’ तर, तत्कालै एकजना श्रेष्ठथरी अग्रजले आफ्नै नाम लिएर कडा स्वरमा प्रतिवाद गर्दै भन्नुभयो– ‘अमुकथरीले लेखेको शब्दकोश भन्दैमा लागू गर्न हुँदैन भन्न पाइन्छ ?’ जब कि प्रसङ्ग त्यो थिएन । प्रसङ्ग त शब्दकोश कसले लेख्यो भन्ने नभई कस्तो लेखिएको छ भन्ने थियो । 

तत्कालै वातावरण असज बन्यो । उहाँको भनाइविरुद्ध कोही पनि बोलेनन् । शायद वातावरण थप बिग्रन्छ कि भनेर होला महाप्रबन्धक पनि बोल्नुभएन । उहाँको स्वभावले पनि दिएन होला । यसले बोल्न खोजेको थियो तर स्थिति थप असहज हुने देखेर मौन रहनु नै उचित ठान्यो । अन्ततः प्रज्ञाको शब्दकोश नै लागू गर्ने निर्णय भयो  । शायद अहिले पनि त्यही चालू छ । त्यतिबेला यसलाई निकै नरमाइलो लागेको भए पनि आफ्नो भनाइ सही छ भन्नेमा ढुक्क थियो र आफ्ना लेखरचना तथा पुस्तकहरूमा आफ्नै किसिमको हिज्जे चलाउँदै ल्याएको थियो । यो छुट्टै कुरा हो कि, प्रकाशन गृहहरूले त्यसलाई आफ्नै किसिमले चलाए । शायद खुुशी, शहरबजार आदिको ‘श’ मोटो र खरीद, करीब, हीत, गीत, मीत आदिको ‘री’ दीर्घ लेखिन्थ्यो छापिँदा पातलो ‘स’ र ह्रस्व भएर आउँथ्यो । विस्तारै यो आफैँ पनि अल्मलिन थाल्यो, जुन अहिलेसम्म पनि कायमै छ । 

हाल आएर सर्वोच्च अदालतले नै प्रज्ञाको शब्दकोशलाई भाँडभैलो नै ठान्यो र तत्सम्बन्धी निकायको नाममा परमादेश जारी गर्‍यो । समावेशी प्रज्ञाले लेखेकै भरमा भाँडभैलो छ भन्ने ठानिएको भए पक्कै सर्वोच्चले त्यसो भन्दैनथ्यो होला । यहाँ यो र ऊ भन्ने थिएन । मात्र ठीक कि बेठिक भन्ने थियो । न्यायालयले त्यही गर्‍यो । बेठीकलाई बेठीक भन्यो । त्यसैले हाल आएर यसले समय नआई वा नपुगी केही पनि हुँदैन, पुग्दैन वा पाइन्न भन्ने कुरोमा थप बल पुगेको ठानेको छ । यद्यपि यसलाई आफू ठीक छु भन्ने कुराको छिनोफानो हुन झण्डै आठ वर्ष कुर्नुपर्‍यो तर अवस्थाले त्यही पुष्टि गर्‍यो, जुन समय नआई हुँदैन भन्ने थियो ।

निःसन्देह समयभन्दा बलबान केही हुँदैन । ऊ यति बलियो छ कि जे पनि गर्न सक्छ, जे गर्नुपर्ने हो त्यही गर्छ । पुर्‍याउने पनि उही हो हुत्याउने पनि उही हो । पकाउने पनि उही हो थकाउने पनि उही हो । तताउने पनि उही हो चिस्याउने पनि उही हो । सुनामी पनि उही, हुनामी पनि उही । गराउने पनि उही हराउने पनि उही । फुकाउने पनि उही झुकाउने पनि उही । माथि पुर्‍याउने पनि उही तल गिराउने पनि उही । बदनामी पनि उही सद्नामी पनि उही । खाना पनि उही नाना पनि उही । मसार्ने पनि उही घिसार्ने पनि उही । लछार्ने पनि उही थचार्ने पनि उही । 

आउनेलाई तारिदिन्छ नआउनेलाई छाडिदिन्छ । काँचोलाई पकाउँछ पाकेकोलाई गलाउँछ । सानोलाई बढाउँछ बढेकोलाई लडाउँछ । उठ्न खोज्नेलाई उठाउँछ सुत्न खोज्नेलाई सुताउँछ । आउन खोज्नेलाई ल्याउँछ जान खोज्नेलाई पठाउँछ । उड्न खोज्नेलाई उडाउँछ खस्न खोज्नेलाई खसाउँछ । डुबेकोलाई उतार्छ, उत्रेकोलाई सुधार्छ । भित्रकोलाई बाहिर ल्याउँछ, बहिरकोलाई भित्र्याउँछ । दौडिन खोज्नेलार्ई दौडाउँछ, कुद्न खोज्नेलाई कुदाउँछ । अघि बढ्न खोज्नेलाई बढाउँछ, फर्किन खोज्नेलाई फर्काउँछ । बढेकोलाई थर्काउँछ, सडेकोलाई थन्क्याउँछ । रसिलोलाई सुकाउँछ, सुखालाई रसिलो बनाउँछ । बाँझोलाई फलाउँछ, फलेकोलाई सजाउँछ । नबोल्नेलाई बोलाउँछ बढी बोल्नेलाई ठटाउँछ । चल्न खोज्नेलाई चलाउँछ, जम्न खोज्नेलाई जमाउँछ । बल्न खोज्नेलाई बलाउँछ, फल्न खोज्नेलाई फलाउँछ । हिजो पनि यस्तै आज पनि यस्तै । शायद भोलि पनि यस्तै ।

सरसर्ती हेर्दा सबै यही हो कि जस्तो लाग्छ । गर्ने गराउने उही हो कि जस्तो देखिन्छ तर त्यसो होइन । रूपमा भए पनि सारमा होइन । समय त पथप्रदर्शक मात्र हो, सहयोगी मात्र हो । जसले जस्तो चाहन्छ, त्यस्तै वातावरण मिलाइदिन्छ । जे चाह्यो त्यहीँ दिन्छ जहाँ जान चाह्यो त्यहीँ पुर्‍याइदिन्छ । प्रगति गर्न चाहनेलाई प्रगतिको ढोकासम्मै पुर्‍याउँछ दुर्गति चाहनेलाई दुर्गतिकै खाडलमा पुर्‍याइदिन्छ । अघि बढ्न चाहनेलाई बाटो देखाइदिन्छ, नचाहनेलाई जहाँ छ त्यहीँ  छाडिदिन्छ । शिखर चुम्न चाहनेलाई त्यहीँ पुर्‍याउँछ तल झर्न चाहनेलाई झारी दिन्छ । वश उसले गर्ने यही हो । जसले जे चाहन्छ त्यही दिने हो, जो जहाँ जान चाहन्छ त्यहीँ पुर्‍याइदिने हो ।   

दुनियाँ थाक्छ ऊ थाक्दैन । दुनियाँको दोकान बन्द हुन सक्छ उसको हुँदैन । दुनियाँ सुत्छ ऊ सुत्दैन । दुनियाँको कारखाना बन्द हुन्छ, यहाँसम्म कि एक दिन सृष्टिकै कारखानासमेत बन्द हुन सक्छ तर उसको हुँदैन । सूर्य थाक्लान्, चन्द्र थाक्लान्, ग्रहनक्षत्र थाक्लान् तर ऊ थाक्दैन । सबैको ढोका बन्द हुन्छ, उसको हुँदैन । एउटा हुन खोजेको हुन्न अर्को खोलिदिन्छ । ऊ कहिल्यै पुरानो पनि हुँदैन । किनकि सदा सक्रिय छ । यही नै समयको खेल हो अनि चमत्कार हो ।

salt training

कमेन्ट गर्नुहोस्