
कोशी प्रदेशमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच ४–४ मन्त्रालय लिने सहमति भएको छ ।
शनिवार काठमाडौंमा दुई दलका नेताहरूबीच बसेको बैठकले यस्तो सहमति गरेको कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङले लोकान्तरलाई जानकारी दिए ।
यससँगै कोशी मन्त्रिपरिषदमा एमालेका मुख्यमन्त्रीसहित ५ र कांग्रेसका ४ जना सदस्य रहनेछन् ।
नेकपा (माओवादी केन्द्र)ले लिएका ३ मन्त्रालय कांग्रेसले लिने सहमति भएको हाे । जसमा भौतिक पूर्वाधार, पर्यटन र स्वास्थ्य छन् । कृषि र सामाजिक विकास कसलाई दिने भन्ने टुंगो लागेको छैन ।
मन्त्रालय भागवण्डा टुङ्गो लागेपछि सोमवार मुख्यमन्त्री हिक्मत कार्कीले सरकार विस्तार गर्ने सहमति पनि भएको प्रमुख सचेतक तामाङले बताए ।
शुक्रवार मात्रै माओवादी सरकारबाट बाहिरिएको थियो ।