
भ्रष्टाचारको आरोपमा निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा भएका छन् ।
आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश गरेको हो ।
थुनछेक प्रयोजनका निम्ति आइतबार उपस्थित हुने निवेदन साथ विशेष अदालत पुगेका अर्यालको बयान साकिएपछि भएको थुनछेक सुनुवाइमा उक्त धरौटी मागिएको हो ।
सरकारी वकिल कार्यालयका एक जना वकिलले उनलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग गरेका थिए । तर अर्का सरकारी वकिलले उपयुक्त धरौटी लिन माग गरेका थिए ।
त्यसैगरी अर्यालको पक्षमा बहस गरेका कानून व्यवसायीहरूले साधारण तारेखको माग गरेका थिए ।
अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहितलाई प्रतिवादी बनाएर गत असार ९ गते मुद्दा दायर गरेको थियो ।
अन्तःशुल्क स्टिकर छपाइ गर्दा ६ करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार भएको आयोगको दाबी छ ।