
अन्तःशुल्क स्टिकर छपाइ प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका निलम्बित मुख्य सचिव वैकुण्ठ अर्याल ५० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई आइतबार ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्ने आदेश गरेको थियो ।
धरौटी रकम बुझाएर रिहा भएपछि विशेष अदालतबाट बाहिरिँदै गर्दा उनले पत्रकारहरूलाई तपाईँहरूको इच्छा पूरा नभएको प्रतिक्रिया दिए ।
'तपाईँहरूको इच्छा पूरा भएन, के फोटो खिच्नुहुन्छ यार,' विशेषबाट बाहिर निस्किँदै गर्दा उनले भने ।
अन्तःशुल्क स्टिकर छपाइमा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्यालसहितलाई प्रतिवादी बनाएर गत असार ९ गते मुद्दा दायर गरेको थियो ।
अन्तःशुल्क स्टिकर छपाइ गर्दा ६ करोड ८४ लाख रुपैयाँ भ्रष्टाचार भएको आयोगको दाबी छ ।