
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा शुरू भएको छ । अस्पतालले आइतबारदेखि पहिलोपटक उक्त सेवा सुरु गरेको हो ।
व्यास नगरपालिका निवासी एक महिलाको पाठेघरको शल्यक्रिया गरिएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले जानकारी दिए । अस्पतालका प्रसूति विशेषज्ञ डा. कुमार विष्टको समूहले ती महिलाको पाठेघर फाल्ने शल्यक्रिया गरेको हो ।
अस्पतालमा यो सेवा शुरू भएसँगै दमौली तथा आसपासका भेगका महिलालाई सहज हुने बरालको भनाइ छ । उनले भने, 'यसअघि यस सेवाका लागि पोखरा, चितवन वा अन्यत्रै जानुपर्थ्यो, अब यहीँ यो सेवा नियमित रुपमा सञ्चालन हुनेछ ।'
पन्ध्र शय्यामा स्वीकृत अस्पतालले हाल ५० शय्याबाट सेवा दिइरहेको छ । बढ्दो बिरामीको चापसँगै अस्पतालको क्षमता विस्तार गर्नुपर्ने आवश्यकता रहेको बरालले बताए ।
विक्रम संवत् २०३४ मा स्वास्थ्य चौकी र विक्रम संवत् २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्तरोन्नति भएको सो अस्पताल विक्रम संवत् २०५९ मा अस्पतालमा स्तरोन्नति भएको थियो ।
अस्पतालले दमौली मात्र नभई छिमेकी जिल्लाका बासिन्दालाई सेवा दिइरहेको छ ।
तीव्र शहरीकरण र बढ्दो जनसङ्ख्यासँगै अस्पतालले उक्त शय्यामा सेवा दिने अवस्था छैन ।
अस्पतालको स्तरोन्नतिका लागि पटक-पटक प्रयास भए पनि त्यसले मूर्त रुप लिन नसकेको बताइन्छ ।