२२ असार २०८३, सोमबार

नेपाल एयरलाइन्सका विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझाव पत्र

साउन १४, २०८१
काठमाडौं
नेपाल एयरलाइन्सका विमान परिचारिकाले बुझाए पर्यटनमन्त्रीलाई सुझाव पत्र
फाइल फोटो

​नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)मा लामो समयदेखि कार्यरत विमान परिचारक र विमान परिचारिका (एयरहोस्टेस)ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेलाई सुझाव पत्र बुझाएका छन् ।

​निगमका करार सेवामा कार्यरत एयरहोस्टेसको टोलीले आज पर्यटनमन्त्री पाण्डेलाई उनको कार्यकक्ष सिंहदरबारमा भेटेर मागसहितको १२ बुँदे सुझाव पत्र बुझाएका हुन् ।

निगममा कार्यरत सम्पूर्ण एयरहोस्टेस सेवा प्रवेश गर्दा करारमा रहेको र हाल पनि करारमै काम गरिरहनुपरेको सुझाव पत्रमा उल्लेख छ ।

जीवनभर नै करार सेवामा बिताउनुपर्दा वृत्ति विकासको चिन्ता र आश्रित परिवार तथा सन्तानको समेत भविष्यलाई दृष्टिगत गरी सेवा वृत्ति गर्नुपर्ने उनीहरूको माग छ।​​

एयरहोस्टेसको सुझाव पत्र बुझ्दै पर्यटनमन्त्री पाण्डेले मागप्रति सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताएका भेटमा सहभागी ‘क्याबिन क्रू’ एसोसिएसन अफ नेपालका (सिक्यान)की अध्यक्ष प्रभा कार्कीले जानकारी दिइन् ।​

आफूहरू कर्मचारी सञ्चय कोषदेखि विभिन्न सेवा सुविधाबाट वञ्चित रहेको र अन्यायमा परेकाले समस्या सम्बोधन गरिदिन मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको उनले बताइन् ।

नेपाल एयरलाइन्समा एयरहोस्टेस लामो समयदेखि करारमा कार्यरत छन् ।

नेपाल एयरलाइन्समा करिब एक सय ७० एयरहोस्टेस रहेको अध्यक्ष कार्कीले जानकारी दिइन् ।

एसोसिएसनका अध्यक्ष कार्की नेतृत्वको करिब ३५ जनाको टोलीले मन्त्री पाण्डेसँग सामूहिक रूपमा भेट गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्