
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग पूर्वब्रिटिस गोरखाहरूले आफूहरूको समान ज्याला, सुविधा र व्यवहारका लागि बेलायत सरकारसँग पहल गरिदिन आग्रह गरेका छन् ।
ब्रिटिस गोरखा सत्याग्रह संयुक्त सङ्घर्ष समिति यूके नेपालको प्रतिनिधिमण्डलले आज मन्त्री डा. राणासँग भेटगरी यस्तो आग्रह गरेको हो ।
सङ्घर्ष समितिका प्रतिनिधिहरूले सामान्यतया सिपाहीहरू जुन देशको झण्डामुनि गोलबद्ध हुन्छन् उनीहरूले सोही देशका सेना सरह नै सेवा सुविधा पाउनुपर्ने व्यवस्था रहेको भए पनि ब्रिटिस गोरखाको हकमा त्यसो हुन नसकेको भन्दै समानताका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
त्यस अवसरमा मन्त्री डा. राणाले ब्रिटिस सरकारका पक्षमा ब्रिटिस गोरखाहरूको ठूलो योगदान र बलिदान रहेको चर्चा गर्दै उनीहरूकै सेना सरहको सेवा र सुविधाका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उक्त सङ्घर्ष समितिका अध्यक्ष भीमबहादुर तावा लिम्बूले ब्रिटिस गोरखाहरूले आफ्ना अधिकारका लागि करिब ३४ वर्षदेखि सङ्घर्ष गर्दै आएको स्मरण गराए ।
सन् २०१३ र सन् २०२१ मा गरिएको लामो अनसनपछि केही सुविधा दिए जस्तो देखिए पनि त्यो आफूहरूका पक्षमा नभएको बताए ।