
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताले नेपालको हवाइ सुरक्षालाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री केपी ओलीको ध्यानाकर्षण गराएका छन् ।
देउवासहितका कांग्रेसका शीर्ष नेताले हवाइ क्षेत्रमा दुर्घटना बढेको भन्दै नेपाल वायुसेवालाई प्रभावकारी बनाएर जाने विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको जानकारी कांग्रेस सांसद उदयशमशेर राणाले दिए ।
‘पछिल्लो केही समययताका ८ वटा हवाइ दुर्घटनामा ११८ जनाको ज्यान जानु चिन्ताको विषय भएको र वायुसेवालाई प्रभावकारी बनाएर जान ध्यानाकर्षण गराएका छौं,’ राणाले भने, ‘हामीले नियमित सेवा दिने र नियमन गर्नेगरी दुई टुक्रामा नागरिक उड्ययन प्राधिकरणलाई व्यवस्थित गर्न ध्यानाकर्षण गराएका छौं । यसमा प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ ।’
आफूहरूले कुरा राख्दा प्रधानमन्त्री चिन्तित भएको भन्दै उनले यसबारेमा सम्बन्धित मन्त्रीलाई बोलाएर निर्देशन दिने आश्वासन दिएको पनि राणाले बताए । ‘बढ्दो हवाइ दुर्घटना कसरी कम गर्दै जान सकिन्छ भन्नेबारे प्रधानमन्त्री पनि चिन्तित भएको पायौं । उहाँ आफैंले पनि प्राधिकरणलाई नियमित सेवा सञ्चालन र नियमन दुई ठाउँमा विभाजित गर्न सक्दा प्रभाकारी हुने बताउनुभएको छ । यो कामको लागि सम्बन्धित निकायलाई निर्देशन दिएको र विभागीय मन्त्रीसँग थप छलफल गर्ने बताउनुभएको छ ।’
हवाइ दुर्घटनापछि छानबिन समिति बन्ने तर, दुर्घटनाको जिम्मा सरकारले नलिने स्थितिप्रति पनि ध्यानाकर्षण गराएको जानकारी राणाले दिए ।
कांग्रेस सभापति देउवा, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा, जीवन परियार, उदयशमशेर राणा, ईश्वरी न्यौपाने, रामकृष्ण यादव, राजन केसीसहितका नेता आइतबार राति बालुवाटार पुगेका थिए ।