
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले ठगीका आरोपितको नाम संकलन गर्ने निर्णय गरेको छ ।
समितिका सभापति सूर्य थापाले सोमबार २९ औं बैठक बसेर आरोपितको नामावली संकलनलगायत ५ बुँदे निर्णय भएको जानकारी दिएका छन् ।
'समितिले प्रस्तुत गर्ने प्रतिवेदनको मस्यौदा थालनी गर्न सचिवालयलाई जिम्मेवारी प्रदान गरियो,' सामाजिक सञ्जाल फेसबूकमा लेख्दै थापाले भनेका छन्, 'प्रतिवेदनमा समेटिने विषयवस्तु छलफलका लागि बैठकमा प्रस्तुत गरी माननीय सदस्यहरूको राय, सुझाव र धारणासहित सर्वसम्मतीले पारित गरियो ।'
त्यस्तै उनले विशेष समितिले सोधपुछ गर्ने बचतकर्ता पीडकका रूपमा आरोपित व्यक्तिहरूको नामावली संकलन गरी अर्को बैठकमा प्रस्तुत गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
समितिले गृहमन्त्री रमेश लेखक, गृहसचिव एकनारायण अर्याल र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरसँग पनि छलफल गरेको थियो ।
उक्त छलफलमा समितिको बैठकले निर्णय गरेबमोजिम सोधपुछ गरिने व्यक्तिको नामावली उपलब्ध गराई सम्बन्धित व्यक्तिहरूलाई समितिसमक्ष उपस्थित गराउन आवश्यक समन्वय र पत्राचार गर्ने निर्णय पनि आजको बैठकले गरेको थापाको भनाइ छ ।
'सोधपुछका लागि साझा प्रश्नहरूको मस्यौदा गर्न तथा व्यक्ति र सहकारी संस्थाकेन्द्रित प्रश्नको समेत गृहकार्य र तयारी गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो,' थापाले निर्णयको जानकारी दिँदै भनेका छन् ।
समितिको सदस्यमा केही हेरफेरसमेत भएको थापाले जनाए ।
समितिमा सदस्यका रूपमा रहेका बद्रीप्रसाद पाण्डे पर्यटनमन्त्री नियुक्त भएपछि रिक्त सदस्यमा दिलेन्द्रप्रसाद बडू सदस्यका रूपमा मनोनीत भएका छन् ।