
चौथो सिजनको ग्लोबल टी–२० क्यानडामा नेपाली टिमका कप्तान रोहितकुमार पौडेलआबद्ध टोरन्टो नेसनल्सले लज्जास्पद हार बेहोरेको छ । मंगलबार बिहान सम्पन्न खेलमा टोरन्टोले मोन्ट्रियल टाइगससँग ७ विकेटको हार बेहोरेको हो ।
टस हारेर ब्याटिङको निम्तो पाएको टोरन्टो ११.१ ओभरमा ५२ रनमै अलआउट भयो । उसका लागि जतिन्दरपाल मथारुले सर्वाधिक १२ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
टोरन्टोले दिएको ५३ रनको सामान्य लक्ष्य मोन्ट्रियलले ११.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । खेलमा टोरन्टोमा सम्मिलित रोहितले भने प्लेइङ–११ मा मौका पाएका थिएनन् । उनले प्लेइङ–११ मा मौका नपाएको यो लगातार चौथो खेल हो ।
हारका बाबजुद टोरन्टोले एलिमिनेटरमा स्थान बनायो । उसले एलिमिनेटरमा खेल्ने प्रतिद्वन्द्वी टिमको टुंगो लाग्न बाँकी छ ।
सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीआबद्ध भ्यानकुभर नाइट्सले भने जारी सिजनमा सात म्याचमध्ये पाँचमा हार व्यहोरेको छ । एकमा अंकमा बाँड्दा एक खेलमा मात्र जितेको थियो । भ्यानकुभर तालिकाको पुछारमा रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ ।