
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विद्यार्थी आन्दोलन, हिंसा र सयौंको मृत्युका बीच पद र देश छाडिन् । सरकारी जागिरमा आरक्षणको विरोधमा शुरू भएको विद्यार्थी आन्दोलनले अन्तत: हसिनाको सरकार पतन गरिदियो । ७६ वर्षीया शेख हसिनाले हतारमा देश छाड्नुपर्यो । पदबाट राजीनामा दिएर उनी सोमबार भारत पुगेकी थिइन् ।

कडा व्यवस्था, दमन र प्रतिबन्धका प्रयासहरूले मानिसहरूलाई घर छोड्नबाट रोक्न सकेन । शहरका कुना–कुनाबाट मानिसहरू सडकमा निस्किए र हसिना देश छोड्न बाध्य भइन् ।
यससँगै बंगलादेशको सबैभन्दा लामो समय प्रधानमन्त्री रहँदै आएकी हसिनाको शासनको पनि अन्त्य भएको छ । शेख हसिनाले बंगलादेशमा करिब २० वर्षसम्म बलियो पकडका साथ शासन गरिन् ।
हजारौं प्रदर्शनकारीले ढाकामा रहेको उनको सरकारी निवासमा आक्रमण गरेका छन् ।
सेनाले देशमा अन्तरिम सरकार बनाउने घोषणा गरे पनि आन्दोलन र बंगलादेशमा के हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।
दक्षिण एसियाली देश बंगलादेशको आर्थिक प्रगतिको श्रेय शेख हसिनालाई दिइन्छ तर, पछिल्ला वर्षहरूमा उनीमाथि तानाशाहीको आरोप पनि लगाइएको छ ।
सन् १९४७ मा पूर्वीबंगालको एक मुस्लिम परिवारमा जन्मिएकी हसिनाले राजनीति विरासतमा पाएकी थिइन् ।
उनका पिता राष्ट्रवादी नेता शेख मुजिबुर रहमान थिए । उनी बंगलादेश राष्ट्रका संस्थापक र पिता थिए । जो १९७१ मा देशलाई पाकिस्तानबाट स्वतन्त्र गराएर देशको पहिलो राष्ट्रपति बनेका थिए ।

त्यतिबेला हसिनाले ढाका विश्वविद्यालयमा विद्यार्थी नेताका रूपमा आफूलाई स्थापित गरेकी थिइन् ।
सन् १९७५ मा सैनिक विद्रोहका क्रममा मुजिबुर रहमान र उनको परिवारका अधिकांश सदस्य मारिए । शेख हसिना र उनकी कान्छी बहिनी मात्र बचेका थिए । किनभने उनीहरू त्यतिबेला विदेश यात्रामा थिए।
भारतमा निर्वासित जीवन बिताएपछि शेख हसिना सन् १९८१ मा बंगलादेश फर्किइन् र आफ्नो बुबाको राजनीतिक दल अवामी लिगको नेता भइन् ।
उनले अन्य राजनीतिक दलहरूसँग मिलेर जनरल हुसेन मोहम्मद एरशादको सैन्य शासनविरुद्ध सडकमा प्रदर्शन गर्दै लोकतन्त्रको माग गरेकी थिइन् ।
देशमा भएको विद्रोहले हसिनालाई चाँडै राष्ट्रिय राजनीतिमा स्थापित गरायो ।
उनी पहिलो पटक सन् १९९६ मा निर्वाचित भएर सत्तामा आएकी थिइन् । भारतसँग पानी सन्धि गर्ने र देशको दक्षिणपूर्वी क्षेत्रमा विद्रोहीसँग सन्धि गर्ने श्रेय उनलाई दिइन्छ।
तर, उनीमाथि धेरै सम्झौतामा भ्रष्टाचार र भारतको प्रभावमा रहेको आरोप पनि लागेको थियो ।
२००१ को चुनावमा उनी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का बेगम खालिदा जियासँग हारिन् । उनलाई ‘ब्याटलिंग बेगम’ पनि भनिन्छ । बेगम उच्च परिवारका मुस्लिम महिला हुन् ।
यी दुई महिला नेताबीचको तिक्त राजनीतिक प्रतिस्पर्धाका कारण बंगलादेशमा बस बम विष्फोट, अपहरण र गैरन्यायिक हत्याका घटना सामान्य बन्दै गएको विश्लेषकहरू बताउँछन् ।
सन् २००९ मा हसिना फेरि सत्तामा आएकी थिइन् । उक्त निर्वाचन कार्यवाहक सरकारको निगरानीमा भएको हो ।
मुस्लिम बहुल बंगलादेश एक समय विश्वको सबैभन्दा गरिब देश थयो । उनकै नेतृत्वमा २००९ देखि विश्वसनीय आर्थिक प्रगति हासिल गरेको छ ।
पछिल्लो दशकमा बंगलादेशको प्रतिव्यक्ति आय तीन गुणाले बढेको छ । विश्व बैंकको अनुमान अनुसार बंगलादेशमा विगत दुई दशकमा २ करोड ५० लाख मानिस गरिबीबाट बाहिर निस्किएका छन् ।

पछिल्लो आन्दोलन हसिनाले सत्ता ग्रहण गरेपछि सामना गर्नुपरेको सबैभन्दा गम्भीर संकट हो । अत्यधिक विवादित चुनावी परिणामपछि यी प्रदर्शनहरू भएका हुन् । विवादित आम निर्वाचनमा उनको पार्टी लगातार चौथो पटक निर्वाचित भएको हो ।
राजीनामाको माग बढ्दै गएपछि शेख हसिना अडिग रहिन् । उनले आन्दोलनकारीलाई ‘आतंकवादी’ भन्दै आलोचना गरिन् । उनले ‘आतंकवादी’लाई कडाइका साथ सामना गर्न सहयोग पनि मागेकी थिइन् । तर, ढाका र देशका अन्य भागहरूमा सरकारी जागिरहरूमा आरक्षण खारेज गर्ने मागका साथ सुरु भएको विरोध प्रदर्शन व्यापक सरकार विरोधी आन्दोलनमा परिणत भयो।
कोभिड महामारीपछि बंगलादेश बढ्दो मुद्रास्फीति र बढ्दो खर्चसँग संघर्ष गरिरहेको छ। मुद्रास्फीति आकासिँदो छ, विदेशी मुद्रा सञ्चिति घटिरहेको छ र बंगलादेशको विदेशी ऋण सन् २०१६ देखि दोब्बर भएको छ ।
आलोचकहरूले यसका लागि हसिना सरकारको व्यवस्थापनलाई जिम्मेवार ठहराएका छन् । ठूलो मात्रामा भ्रष्टाचारका कारण बंगलादेशको आर्थिक प्रगतिको फाइदा हसिनाको अवामी लिग पार्टीसँग नजिक भएकाहरूलाई मात्र पुगेको आरोप लगाएका छन् ।
हसिनाको शासनकालमा उनका राजनीतिक विपक्षी, मिडिया र विपक्षीलाई दमन गरिएको उनीहरूको आरोप छ । देशमा बहुदलीय प्रजातन्त्रका लागि लड्ने नेतामा यो एउटा उल्लेखनीय परिवर्तन थियो । बंगलादेशका मानवअधिकार समूहहरूले पनि सन् २००९ यता सयौं मानिस बेपत्ता र गैरन्यायिक हत्याका बारेमा चिन्ता व्यक्त गरेका छन्।
हसिनाको सरकारले यस्ता आरोपलाई ठाडै अस्वीकार गर्दै आएको थियो ।
एजेन्सीहरूको सहयोगमा लोकान्तरका लागि विनोद देवकोटाले तयार पारेको सामग्री ।