
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी भारत प्रस्थान गरेका छन् ।
कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रीजले विदेश मन्त्रालयसँगको सहकार्यमा आजदेखि आयोजना गरेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) व्यापार शिखर सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
बिम्स्टेक सम्मेलन बिहीबारसम्म चल्नेछ ।
सम्मेलनमा नेपालका तर्फबाट बिम्स्टेकबाट व्यापार व्यवसाय प्रवर्द्धनमा लिन सकिने फाइदा र भारतसँगको व्यावसायिक हितका विषयमा छलफल गरिने मन्त्री भण्डारीको निजी सचिवालयले जनाएको छ ।
सम्मेलनमा मन्त्री भण्डारीको उपस्थितिले नेपालका लागि दक्षिण एसियाली र पूर्वी एसियाली क्षेत्रीय सौविध्यपूर्ण बजार पहुँच अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
नेपालको स्तरोन्नतिपश्चात नेपालले बजार पहुँच सुविधा गुमाउने सन्दर्भमा नयाँ क्षेत्रीय बजारमा सौविध्यपूर्ण बजार पहुँच प्राप्त हुने र नोक्सानी न्यूनीकरणमा सहयोग पुग्ने पनि अपेक्षा गरिएको छ ।