
सरकारले ३४ जिल्लामा रात्रिकालीन बस सञ्चालनमा रोक लगाएको छ ।
भारी वर्षा र अति भारी वर्षा हुनसक्ने भएकाले साउन २२ र २३ गते विभिन्न जिल्लामा रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका प्रवक्ता एवं उपसचिव डा. डिजन भट्टराईले मंगलबार एक सूचना जारी गर्दै रात्रिकालीन बस सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जानकारी दिएका हुन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाको सूचना अनुसार पाँच वटा प्रदेशका विभिन्न जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेसँगै ताप्लेजुङ्ग, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ्ग, नुवाकोट, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत, स्याङ्जा, तनहुँ, नवलपरासी पूर्व, लमजुङ्ग र गोरखामा भारी वर्षासँगै बाढीपहिरोको जोखिम हुने जनाएसँगै रात्रीकालीन बस सञ्चालन गर्न रोक लगाइएका प्राधिकरणले जनाएको छ ।
डा. भट्टराईका अनुसार कपिलवस्तु, रुपन्देही, पाल्पा, गुल्मी, दाङ्ग, बाँके, बर्दिया, प्युठान, अर्घाखाँची र रुकुम पश्चिम, कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा पनि रात्रिकालीन बस सञ्चालन गर्न रोक लगाइएको छ ।
‘राति यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आँकलन गर्न कठिन हुने भएकोले सम्भावित क्षति रोक्न उच्च जोखिम भएका जिल्लामा रात्रीकालीन बस नचलाउने निर्णय भएको हो,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘भारी वर्षा र अति भारी वर्षा हुन सक्ने जिल्लामा जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको समन्वयमा रहेर पूर्वतयारी अपनाइएको छ।’
भारी वर्षा हुने प्रक्षेपण गरिएका जिल्लाहरूमा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारको लागि ती जिल्लाहरूका तीनवटै सुरक्षा निकायहरू तयारी अवस्थामा रहने निर्णय भएको जानकारी डा. भट्टराईले दिए ।
उनले भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् ।
