
सत्तारुढ दल नेकपा (एमाले)ले आगामी कात्तिक मसान्तभित्र बाँकी जिल्लाको अधिवेशन गरिसक्न निर्देशन दिएको छ ।
एमालेले सबै सांगठनिक गतिविधि २०८४ को चुनावलाई केन्द्रित गरेर अगाडि बढाउने निर्णय पनि गरेको छ । यसैका लागि नेताहरूलाई आफ्नै भूगोलमा खटाउने एमालेको निर्णय छ ।
प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार अपानी जारी गर्दै बाँकी ११ जिल्लाको अधिवेशन अगामी कात्तिकभित्र गरिसक्न निर्देशन दिएका हुन् । अब गरिने अधिवेशनहरू सदस्यता नवीकरण गरेर गर्न पनि एमालेले निर्देशन दिएको छ । पालिका, वडा, टोल र सो सरहका अधिवेशनहरू मंसिर महिनाभित्रै सम्पन्न गरिसक्न एमालेले पार्टी पंक्तिलाई निर्देशन दिएको छ ।
मिसन ८४ को अभियानमा केन्द्रित रहेर एमालेले केन्द्रीय सदस्यलाई आफ्नै भूगोलका जिल्ला र प्रदेशका निर्वाचन क्षेत्रमा खटाएको जनाएको छ । पार्टीका समन्वय कमिटीका कामलाई मिसन ८४ सफल पार्ने उद्देश्यले केन्द्रित गर्ने घोषणा पनि एमालेले गरेको छ ।
केन्द्रमा मात्र रहने विभागबाहेकका अन्य विभागको गठन प्रदेश र जिल्लाले गर्न पाउने निर्णयसमेत एमालेले गरेको छ ।
यसअघि प्रदेश अध्यक्षको भूमिका र वरीयता (पद) पोलिटब्युरो सदस्य बराबर हुने एमालेको निर्णय थियो । तर पछिल्लो अपानीमा प्रदेश प्रमुखको वरीयता केन्द्रीय सदस्य सरहको उल्लेख गरिएको छ ।